
काठमाडौंः स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ ।
स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । उक्त समूहका अर्की एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् ।
यो घटना उत्तरी स्पेनको अरागोन क्षेत्रको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयनुसार दिउँसो करिव १ बजे घटेको थियो । बास्क क्षेत्रबाट आएका भनिएका ती पर्वतारोहीहरू करिव २ हजार ७ सय मिटरको उचाईमा रहँदा हिउँपहिरोले उनीहरूलाई पुरेको थियो । सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानका अनुसार हिउँको ठूलो ढिक्का फुटेर तल खस्दा यो दुर्घटना भएको हो । एजेन्सी