
काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस आर्य समूहतर्फको बन्द सूचीमा रहने पहिलो तीन उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकमा गरिएको मतदानमार्फत उम्मेदवारहरू छनोट गरिएको हो ।
सो मतदानमा सर्वाधिक मत प्राप्त गर्दै भरत गिरी खस आर्य समूहको समानुपातिक बन्द सूचीमा पहिलो नम्बरमा चयन भएका छन् । उनी हाल राप्रपाको कार्यसम्पादन समिति सदस्यसमेत छन् ।
यसअघि सम्पन्न राप्रपाको खस आर्य समूहको आन्तरिक निर्वाचनमा पनि गिरीले सर्वाधिक मत प्राप्त गर्दै मधेश–प्रदेश अध्यक्षका उम्मेदवारका रूपमा चयन भएका थिए । यस्ता आन्तरिक लोकतान्त्रिक अभ्यासले पार्टी संगठनलाई सुदृढ बनाउनुका साथै नेतृत्व चयनमा पारदर्शिता र सहभागिताको संस्कारलाई मजबुत बनाएको छ ।
भरत गिरी समाजसेवा, संगठन निर्माण तथा जनसरोकारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका एक निष्ठावान र कर्मशील नेताका रूपमा परिचित छन् । मधेश प्रदेशका जनताको हक–अधिकार, समावेशी विकास र सामाजिक न्यायका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन् ।
शिक्षा र स्वास्थ्यलाई राष्ट्र निर्माणको आधार मानेर यी क्षेत्रमा दीर्घकालीन सुधार आवश्यक रहेको धारणा राख्दै आएका गिरीले गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा बिना दिगो विकास सम्भव नहुने बताउँदै आएका छन् ।
पार्टीभित्र उनीप्रति रहेको विश्वास र जिम्मेवारीको संकेतका रूपमा समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा चयन भएका गिरीको अनुभव र स्पष्ट दृष्टिकोणले मधेश–प्रदेशसहित समग्र देशको राजनीतिक नेतृत्वमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
यस्तै सूचीको दोस्रो नम्बरमा धार्मिक क्षेत्रको प्रतिनिधीको रुपमा पुष्पराज पुरुष रहेका छन् । उनी राप्रपाको धर्म संस्कृति विभाग र धार्मिक संगठनका प्रमुख हुन् ।
यस्तै, धर्मराज जोशी तेस्रो नम्बरमा रहेका छन् । उनी सुदूरपश्चिम प्रदेश प्रमुख हुन् ।