
काठमाडौं : तत्कालीन उज्यालो नेपाल पार्टीले सिफारिस गरेको समानुपातिक सूचीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार जनाको नाम हटाएको पाइएको छ । रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटेको हो ।
यसअघि उज्यालो नेपाललाई समानुपातिकतर्फ १८ सिट दिने सहमति भए पनि नाम काटिएपछि संख्या १४ मा झरेको छ । सोमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताका लागि ७ बुँदे सहमति भएको थियो ।
तर केन्द्रीय कमिटीबाट पारित नगरी एकता र बन्दसूचीमा सहमति गरिएको भन्दै बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट रहेको केन्द्रीय सदस्य तुलसा वाइबाले बताइन् । ‘पार्टी एकताका सहमति भएको दुई दिन नबित्दै रास्वपाले उल्लंघन गर्नु राम्रो होइन, ‘उनले भनिन्, ‘एकाएक बन्दसूचीबाट नाम हटाइनु सहमतिमाथिको धोका हो ।’