
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्दै त्यसलाई कुखुरा, बाख्रा र स्यालले बाघको सिकार गर्न नसक्ने बताएका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीमा ओलीले एमालेविरुद्ध मोर्चाबन्दी भइरहेको बताए र पार्टी चुनाव पर्खिरहेको स्पष्ट पारे । कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान पक्षधर शक्तिहरूले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेस र एमाले ऐतिहासिक रूपमा सँगसँगै लड्दै आएको स्मरण गराए । उनले व्यवस्था जोगाउन संयुक्त संघर्ष र त्यसपछि स्वस्थ प्रतिस्पर्धासहित निर्वाचनमा जानुपर्ने धारणा राखे ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि लोकतन्त्र संकटमा पर्दा कांग्रेस–एमाले सहकार्य आवश्यक रहेको बताए । उनले आगामी निर्वाचन वा संसद् पुनर्स्थापनामार्फत लोकतन्त्रवादी र वामपन्थी शक्तिले संयुक्त रणनीति बनाउनुपर्नेमा जोड दिए ।