
दोहा, कतार : नेपालका सूचीकृत आदिवासी जनजातिहरूमध्ये गुरुङ जाति पनि एक हो । कतारमा रहेका गुरुङहरूले आफ्नो महान् तथा राष्ट्रिय पर्व तमु ल्होसार यस वर्ष पनि भव्य रूपमा मनाउने भएका छन् । स्प्रही- ल्हो (सर्प वर्ग) को बिदाइ गरी त ल्हो (घोडा वर्ग)को स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रमका साथ ल्होसार मनाउने भएका हुन् ।
ल्होसारलाई संगीतमय बनाउन नेपालबाट अतिथि कलाकारका रूपमा गायिका इनमाया गुरुङ (इन्द्रा) र कोरियोग्राफर तथा कुशल नृत्यकार कमल गुरुङ कतार आउने भएका छन् । नेपालबाट आमन्त्रित कलाकारसहित कतारमा रहेका कलाकारहरूले समेत विभिन्न सांगीतिक प्रस्तुति दिने भएका छन् ।
आगामी शुक्रबार बिहान ११ बजेबाट अल ओकिरमा रहेको डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा सुरु हुने कार्यक्रममा सरिक हुन चाहनेका लागि कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्था गरिएको छ । विगतका वर्षमा अलग अलग ल्होसार मनाएका तमु (गुरुङ) समाज र तमु प्ये ल्हु संघ, शाखा कतारले यस पटक संयुक्त रूपमा तमु ल्होसारको कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
