२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न

shivam cement
२०८२ पुष १६ गते १८:५६
Shares
नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं : नेपालभरका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने तथा पानीजन्य बस्तु उत्पादक उद्योगीहरूको छाता संगठन नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न भएको छ । मंगलबार ललितपुरको गोदावरी नगरपालिका-३ स्थित 'होटल भ्यु भृकुटी' को सभाहलमा पहिलो र दोस्रो चरण गरी प्रथम साधारण सभा सम्पन्न भएको हो ।

नेपालको  पिउने पानी आपूर्ति र व्यवस्थापन क्षेत्रको शीर्ष निकायका रूपमा स्थापित नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बू चेम्जोङको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेल रहेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा पूर्वसंघीय सांसद नवराज सिलवाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना वैद्य जोशी रहेका थिए । महासंघको साधारण सभामा अतिथिका रूपमा उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं सल्लाहाकार भरत आचार्यलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

साधारण सभाको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री पौडेलले गरेका थिए भने नेपाल पानी उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । संघका सदस्य संस्था तथा पानी विशेषज्ञहरूको सहभागितामा भएको सभामा देशभरिका पानी आपूर्ति, शुद्धीकरण, वितरण र व्यवस्थापनका चुनौती तथा अवसरहरूका बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।

कार्यक्रममा अध्यक्ष चेम्जोङले संस्थाको वार्षिक प्रगति, नीतिगत पहल र दिगो पानी व्यवस्थापनमा गरिएका रणनीतिक पहलकदमीहरू प्रस्तुत गरेका थिए । उनले नेपालको पानी उद्योग आज नयाँ रुपान्तरणको अभियानमा रहेको बताए । उनले सदस्यहरू बीचको सहकार्यलाई बढावा दिँदै प्रविधि र नवीनता समेट्ने र समग्र देशका लागि स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्ने साझा जिम्मेवारी निर्वाह गर्ने विषयमा केन्द्रित रहने समेत बताए ।

प्रथम साधारण सभाले विक्रम लिम्बू चेम्जोङको अध्यक्षतामा आगामी ३ वर्षका लागि ३५ सदस्यीय निर्वाचित कार्यसमिति र ४ जना मनोनीत गरेर ३९ सदस्यीय समिति चयन गरेको छ । साधारण सभाले सर्वसम्मत कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै सभाले महासचिवमा ध्रुवप्रसाद अधिकारी र उपमहासचिवमा रोसा श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यसैगरी महासंघको उपाध्यक्षमा क्रमश: रविन्द्र मोहन अधिकारी ,पुरुषोत्तम पाण्डे ,रुपचन्द्र नौलाखा ,शाहिल शाह ,भुवन प्रसाद लोहनी , सबि कार्की ,कृष्ण प्रसाद आचार्य ,टेकेन्द्र सिंह कुन्जेडा निर्वाचित भएका छन् । महासंघको कोषाध्यक्षमा भने देव नारायण चौलागाई निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा जितेन्द्र दाहाल, नारायण गिरी, प्रमोदकुमार शाह, सहदेव बोलखे, सौरभ मारु, पदमबहादुर राउत, चिन्तामणि भुसाल, अविनाश थानी, जीवन घिमिरे चयन गरेको भएका छन् । त्यसैगरी सदस्यहरूमा राम सुवाल, गोकुल थापा, अमराज लामा, राम बराल, दिनेश भट्टराई, राजेश खनाल, विक्रम मण्डल, अनिल आचार्य, कृष्ण कुँवर, टक शारु मगर, शरदप्रसाद रिजाल, विशाल विष्ट, श्रवण थापा निर्वाचित भएका छन् । सभाले विनय श्रेष्ठ, सुदिपमान सिंह बस्नेत र रक्कि तामाङलाई सदस्यमा मनोनीत समेत गरेको छ । जसमा एक जना सदस्य मनोनीत गर्न बाँकी छ ।

कार्यक्रममा महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सभाको मुख्य एजेन्डा कोषाध्यक्ष देवनारायण चौलागाईंले प्रस्तुत गरेका थिए । जसमा संस्थाको वित्तीय विवरण र कार्ययोजना स्वीकृत गर्नु, पानी उद्योगसँग सम्बन्धित नीति निर्माताहरूसंगको सहकार्य, क्षमता विकासका कार्यक्रम र आगामी वर्षका लागि रणनीतिक लक्ष्यहरू निर्धारण गर्ने विषयहरू समावेश गरिएका थिए ।

सदस्यहरूले संस्थाको नेतृत्वलाई पूर्ण समर्थन जनाउँदै सबै प्रस्तावहरू पारित गरेका छन् । महासंघले साधारण सभाको सफल आयोजनालाई नेपालको जल क्षेत्रमा एकजुटता, नयाँ प्रतिबद्धता र सामूहिक प्रयासको प्रतीकको रूपमा लिइएको छ । नेपाल पानी उद्योग महासंघले सभाबाट प्राप्त गरेको सहमति र ऊर्जाका साथ देशभरि सुरक्षित पानी आपूर्ति र दिगो व्यवस्थापनको अभियानलाई अगाडि बढाउने संकल्प दोहोर्‍याएको छ ।

महासंघको प्रथम साधारण सभामा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष बुढाथोकीले नेपाल पानी उद्योग महासंघ देशैभरका जार तथा बोतलका पिउने पानी तथा पानी जन्य बस्तु उत्पादक गर्ने उद्योगीहरूको छाता संगठन भएकाले देशैभरिका सबै उद्योगीहरूको संरक्षणमा लाग्ने बताए । उनले देशैभरिका उद्योगीहरू गोलबद्ध भएर जोडिएर समस्याको समाधन गर्न जुट्नुपर्ने धारणा राखे । साधारण सभाले विगतका विभिन्न जिम्मेवारीहरूलाई रद्द गर्दै आवश्यकताअनुसार नयाँ जिम्मेवारी थपघट गर्ने गरी विशेष नीति समेत पास गरेको छ । 

कार्यक्रममा विशेष अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना वैद्य जोशीले उद्योगीहरूको व्यावसायिकतामा सहयोग गर्न विभाग तयार रहेको बताइन् । उनले उद्योगीहरूको लगानी सुरक्षित गर्न र लगानीमैत्री वातावरण निर्माणमा सबैसँग हातेमालो गर्ने बताइन् । माहानिर्देशक जोशीले पानी उत्पादन गर्ने नाममा उद्योगबाट हुने गरेको लापरबाहीबारे भने कानुनले छुट नदिन बताइन् । उनले उद्योगी आफैं सचेत भएर जार तथा बोतलको पिउने पानी शुद्ध र गुणस्तरीय तरिकाबाट उत्पादन गरेर बजारमा पठाउनुपर्ने धारण राखिइन् ।

नेपाल पानी उद्योग महासंघ सम्पूर्ण पानी उद्योगीहरूको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरूको हकहित संरक्षण तथा व्यवसायीहरूलाई थप उत्तरदायी बनाउन स्थापना भएको संगठन हो । यसले पानी उद्योगीहरूलाई एउटै छाता संगठनमा गोलबद्ध गराएको छ । त्यस्तै महासंघले देशैभरिका उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखेर “स्वच्छ पिउने पानी” तथा पानीजन्य बस्तु उत्पादन गरेर बजारमा विक्री वितरण गर्न उद्योगीहरूलाई सचेत गराउने मुख्य लक्ष्य राखेको छ ।

साधारण सभामा देशैभरिका २३ भन्दा बढी जिल्लाबाट पानी उद्योगीहरू प्रतिनिधिका रुपमा सहभागी भएका थिए । सहभागी भएका जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिरहा, धनुषा, बारा, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काँस्की, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, मनाङ, पाल्पा, कैलाली र कञ्चनपुर रहेका थिए ।

सम्बन्धित खबर