२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १५:४७
वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

बाँके : बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए । उनका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई एक लाख २३ हजार आठ सय १० क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ ।

यसैगरी, पशुधन क्षतिका एक सय ८१ घटनामा १८ लाख २५ हजार तीन सय र अन्नबाली क्षतिका दुई सय ७२ घटनामा १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए ।

बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा तीन सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो । चितुवाको आक्रमणबाट तीन सख्त घाइते र एक सामान्य घाइतेलाई चार लाख ८९ हजार, पशुधन क्षतिका ६८ घटनामा छ लाख ९६ हजार चार सय ५० र अन्नबाली क्षतिका दुई सय ९२ घटनामा १२ लाख ४१ हजार दुई सय ५० क्षतिपूर्ति वितरण गरिएको थियो ।

वन्यजन्तु अपराधसम्बन्धी सात मुद्दा दर्ता

बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात थान मुद्दा दर्ता गरेको छ । सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जकी रेञ्जर बिनिता केसीले जानकारी दिइन् । उनका अनुसार गत आर्थिक वर्षमा संरक्षित जनावर चौखाको चोरी–सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको छ भने सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएका छन् ।

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी–सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौं, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछ”, निकुञ्जका रेञ्जर केसीले भनिन्, “गत आर्थिक वर्षका सातवटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन ।”

गत आर्थिक वर्ष सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी–सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ । यसैगरी, संरक्षित जनावर चौखा चोरी-सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise