
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सहकार्य गर्ने उद्देश्यसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र विप्लव नेतृत्वको नेकपा (माओवादी)बीच सघन छलफल सुरु भएको छ । कम्युनिस्ट शक्तिलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको निष्कर्षसहित दुवै पक्ष नजिकिएको स्रोतको दाबी छ ।
माघ ६ गतेअघि एकता घोषणा गर्ने गरी शीर्ष नेताहरू सक्रिय छन् । समानुपातिक बन्दसूची मिलाउन विप्लवसहित माओवादी नेताहरू काठमाडौंमा छन् भने नेकपाबाट प्रचण्डका विश्वास पात्र वार्तामा खटिएका छन् ।
केही दिनअघि विप्लव र नेता कृष्णबहादुर महराबीच खुमलटारमा भेट भएको थियो । माओवादी नेताहरूले चुनावी तालमेल र सहकार्यबारे छलफल भइरहेको स्विकारे पनि निष्कर्ष ननिस्किएको बताएका छन् ।
पुस २१–२७ भित्र समानुपातिक सूची संशोधनको समय र माघ ६ मा प्रत्यक्ष उम्मेदवारी दर्ता हुने भएकाले एकता वा तालमेलको निर्णय चाँडै हुने संकेत देखिएको छ । कालीकोटबाट प्रचण्डको एकल नाम सिफारिस गर्नु पनि सम्भावित तालमेलका लागि होल्ड गरिएको बताइन्छ ।