
काठमाडौं : नेपाली कांग्रेसमा विशेष महाधिवेशनको बहससँगै पार्टी फुटको आशंका बढेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नभएकाले विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै पुस २७–२८ गते बोलाउने तयारी अघि बढाएका छन् ।
यसबीच संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टी सभापति शेरबहादुर देउवा र दुवै महामन्त्रीसँग भेट गरी पार्टी फुटको चिन्ता व्यक्त गरेका छन् । भेटमा समानुपातिक बन्दसूची विवादलगायत विषयमा छलफल भएको बताइएको छ ।
सभापति देउवाले चुनाव नजिकिएकाले विशेष महाधिवेशन सम्भव नरहेको र पार्टी एकताबद्ध भएर चुनावमा जानुपर्ने धारणा राखेका छन् । महामन्त्रीद्वयले पनि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको छ । सबैको ध्यान शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकतर्फ केन्द्रित छ ।