
काठमाडौं : राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची दुई अवस्थामा मात्र संशोधन गर्न पाइने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पहिलो, क्लस्टर वा समानुपातिक प्रतिनिधित्व नमिलेमा र दोस्रो, उम्मेदवारले स्वयं नाम फिर्ता लिएमा सूची परिवर्तन गर्न सकिन्छ ।
क्लस्टर नमिलेको सूचना आयोगले पुस २० गतेसम्म दललाई दिनेछ भने पुस २१–२७ गतेभित्र संशोधित सूची पेस गर्नुपर्नेछ । उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्नेछन् र सोको जानकारी आयोगले पुस २९ गते दललाई दिनेछ । रिक्त स्थानमा सोही समूहको नयाँ उम्मेदवार पुस ३० गतेसम्म मनोनयन गर्नुपर्नेछ ।
आयोगले माघ ४ गते बन्दसूची प्रकाशन गर्नेछ । माघ ५–१० गते दाबी–विरोध, माघ ११–१७ गते छानबिन र माघ २० गते अन्तिम बन्दसूची प्रकाशन हुने कार्यतालिका छ ।