२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

shivam cement
२०८२ पुष १८ गते १७:४६
Shares
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

चितवन : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट हुनेमा विश्वास व्यक्त गरे । 

उनले भने, ‘निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन् ।’ १० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको बताए । 

सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उनको भनाइ थियो । दलहरू जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उनले भने, ‘पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिसकेका छन् ।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भइरहेकाले निर्वाचन नहुनेमा द्विविधा नभएको उनको भनाइ थियो ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आफू अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे । उनले भने, ‘चुनाव लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।’

सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनावको बातावरण बनाइरहेको उनको भनाइ थियो । उनले भने, ‘म मन्त्रिपरिषद्को सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौं ।’

सरकारले सुशासन  कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि बढाएको उनले बताए । अर्को प्रसंगमा उनले अहिलेका मन्त्रीहरूले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताए । उनले भने, ‘चुनाव लडिराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन । एउटा व्यक्तिले म चुनाव लड्छु, जनतामा जान्छु, म उम्मेदवार बन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन ।’ –रासस

सम्बन्धित खबर