
काठमाडौं : नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्मका लागि तय गरेको छ ।
उक्त कार्यतालिकामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा पारित कार्यतालिकामा उनीहरू दुवैले आफ्नो असहमति जनाएका हुन् ।
बैठकपछि गगनले सञ्चारकर्मीसँग भने, ‘महाधिवेशनको कार्यतालिकामा फरक मत राखेको छु ।’ महामन्त्री थापाले आगामी पुस मसान्तभित्र विशेष महाधिवेशन आयोजना हुने जानकारी पनि दिएका छन् ।
तर, उक्त महाधिवेशन केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हुने कि नगरी हुने भन्ने कुरा अर्को एक–दुई दिनभित्र टुंगिने उनले बताए । थापाले विधानलाई सर्वोच्च मान्दै केन्द्रीय कार्यसमितिको कार्यान्वयन जिम्मेवारीबारे पनि स्पष्ट पारे । गगनले भने, ‘धारा १७ (२)को पालना गर्छु, गर्छौं, यदि केन्द्रीय कार्यसमितिले नगरेको खण्डमा महामन्त्रीको जिम्मेवारी हुन्छ ।’
साथै, पार्टीको क्रियाशील सदस्यता नवीकरण र अधिवेशन तालिका सम्बन्धमा पनि निर्णय गरिएको छ । गाउँ/नगर, प्रदेश, प्रतिनिधि सभा क्षेत्रीय र जिल्ला अधिवेशनको मिति निर्धारण गरिएको छ ।
विशेष परिस्थितिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४३ बमोजिम सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि २०८३ ज्येष्ठ मसान्तसम्म थप गरिएको छ ।