
संखुवासभा : नेकपा (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी संखुवासभाको एकता सन्देश सभामा संयोजक पूचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन् ।
उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । संकटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।
संयोजक दाहालले हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको स्पष्ट पारे । जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी सच्चिएर अघि बढ्ने बताए ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । ‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ,’ उनले भने ।
सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औंल्याए । –रासस