२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

‘मुक्तिनाथ एग्री फाइनान्स ३६०’ सम्पन्न

shivam cement
२०८२ पुष १८ गते २०:४४
Shares
‘मुक्तिनाथ एग्री फाइनान्स ३६०’ सम्पन्न

काठमाडौं : मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ एग्री फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा योगदान पु¥याउने उद्देश्यसहित सो कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच उत्प्रेरणात्मक वातावरण निर्माण आवश्यक रहेको बताए । उनले कृषि लगानी विस्तार र कर्जा गुणस्तर सुदृढ गर्न क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बिमा, मूल्य शृंखलामा समन्वय तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

साथै, उनले महिलामैत्री कृषि, प्रविधिसँग जोडिएको युवा लक्षित स्वरोजगार, साना किसानको वित्तीय पहुँच विस्तार र स्तरोन्नतिका लागि सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरे । 

कार्यक्रमका विशेष अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको पूर्ण मूल्य शृंखला विकासमा राज्य, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सहकार्य अपरिहार्य रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि सम्बन्धी सहायक कम्पनी स्थापना गरी मूल्य शृंखला सुदृढ गर्न सक्ने सुझाव दिँदै यसमा नेपाल राष्ट्र बैंकको समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा की–नोट वक्ताका रूपमा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले ‘नेपालमा कृषि उद्यम लगानीका चुनौती र अवसर’ विषयमा प्रस्तुति दिएका थिए । उनले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, न्यून उत्पादकत्व र संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए ।

त्यसैगरी कार्यक्रममा ‘नेपालमा कृषि उद्यम कसरी फस्टाउन सक्छ ?’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो । छलफलको संयोजन बैंकिङ विशेषज्ञ भुवन दाहालले गरेका थिए भने प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत तथा कृषक उद्यमी बिमला आचार्य दहाल सहभागी भएका थिए ।

प्यानल छलफलबाट कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्ने, कर्जा जोखिम व्यवस्थापनमा नीतिगत सुधार गर्ने, वित्तीय संस्थालाई उत्प्रेरणात्मक वातावरण दिने, मूल्य शृंखलामा आधारित सहकार्य प्रवर्धन गर्ने, प्रदेशस्तरमा भण्डारण, नमूना खेती र बजार सुनिश्चित गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने तथा प्रविधिमैत्री कृषि विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा नेपाल सरकारका कृषि निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, गैरसरकारी संस्था, विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता, कृषि सहकारी, उद्यमी, निजी क्षेत्र र सञ्चारकर्मी गरी करिब ३५० जनाको सहभागिता रहेको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक उमेश कुमार आचार्यले राखेका थिए भने कार्यक्रमको समापन टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर