
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको भावनासँग सहमत भए पनि केन्द्रीय कार्यसम्पादन समितिको बहुमत निर्णयविरुद्ध विद्रोह गर्न नसकिएको बताएका छन् ।
शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरूसँगको छलफलमा उनले बहुमतको निर्णय मान्नैपर्ने बाध्यता रहेको बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ताहरूको भावना सम्बोधन गर्न प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ थियो ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १५औं महाधिवेशनको नयाँ कार्यतालिका बहुमतबाट पारित गरेको थियो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत पाँच नेताले फरक मत राखेका थिए ।
कोइरालाले पार्टीभित्र चुलिएको विवाद समाधानका लागि संवाद सुरु गरेको र आइतबार विशेष महाधिवेशन पक्षधर नेताहरूसँग थप छलफल गर्ने बताएका छन् । छलफलमा सहभागी नेताहरूले उनलाई विशेष महाधिवेशनको अपनत्व लिन र शीर्ष नेतृत्वबीच सहमतिको पहल गर्न आग्रह गरेका छन् ।
यद्यपि कोइरालाले केन्द्रीय कार्यसम्पादन समितिको बहुमत निर्णयविरुद्ध विद्रोह गर्न नसकिने प्रष्ट पारेका छन् । उनी नियमित महाधिवेशनको पक्षमा उभिएको संकेत गरेका छन् ।
कांग्रेसको १५औं महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ सम्मका लागि प्रस्ताव गरिएको छ ।