२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एमाले रौतहट–३ बाट कुन्दन नाम सिफारिस

shivam cement
कृष्ण तिवारी
२०८२ पुष १९ गते १८:०९
Shares
एमाले रौतहट–३ बाट कुन्दन नाम सिफारिस

रौतहट : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले)ले कुन्दन कुशवाहालाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

शनिबार रौतहट–३ अन्तर्गत गुजरा नगरपालिकामा आयोजित एमाले क्षेत्रीय कार्यकर्ता भेलाले पार्टी केन्द्रीय सदस्यसमेत रहेका कुशवाहालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । 

क्षेत्रीय संयोजक युवराज ज्ञवालीका अनुसार भेलामा उपस्थित स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि, क्षेत्रीय समिति सदस्य तथा कार्यकर्ताहरूले कुशवाहाको संगठनप्रतिको निरन्तर सक्रियता, जनसमस्यामा देखाएको पहल, विकास अभियानमा प्रस्तुत नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई उच्च मूल्यांकन गरेका छन् ।

क्षेत्रीय भेलामा कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम क्षेत्रीय संयोजक ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा प्रदेश सांसद तथा पूर्व मन्त्री केशव राय चौधरी, पूर्व मन्त्री नागेन्द्र यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहलगायत एमालेका नगर, क्षेत्र, जिल्ला तथा प्रदेशस्तरीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कुन्दन कुशवाहा तत्कालीन कटहरिया गाविसका अध्यक्ष जादोलाल महतोका जेठा छोरा हुन् । उनी २०७४ सालको निर्वाचनमा रौतहट–३ (ख) बाट तत्कालीन नेकपा (माओवादी केन्द्र)को टिकटमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने एमालेको टिकट छोडेर प्रभु साह नेतृत्वको टिमबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका कुशवाहा नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादव (जितेन्द्र)सँग पराजित भएका थिए ।

चुनावमा आफूविरुद्ध अन्याय भएको आरोप लगाउँदै कुशवाहा गत वर्ष आम जनता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेशपछि पार्टी संगठन सुदृढीकरण तथा जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी हाल प्रतिनिधिसभा निर्वाचनको प्रमुख दाबेदारका रूपमा अघि सारिएका छन् ।

सम्बन्धित खबर