
दोहा कतार : कतारमा रहेका गुरुङहरुले आफ्नो महान् तथा राष्ट्रिय पर्व तमु ल्होसार भव्य रूपमा मनाएका छन् । स्प्रही– ल्हो (सर्प वर्ग) को बिदाइ गरी त ल्हो (घोडा वर्ग)को स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रमका साथ शुक्रबार ल्होसार मनाएका हुन् ।
अल ओकिरमा रहेको डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा सम्पन्न ल्होसारमा नेपालबाट आएका अतिथि कलाकार कुशल थलाङसहित कार्यक्रम अवधिभर कतारमा रहेका र तमु सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।

ल्होसारमा कलाकारको समूहले पेस गरेको कौराहा विशेष आकर्षण बनेको थियो भने नेपालमा समेत लोप हुँदै गएको रोधी बस्ने परम्परा यस पटक कतारमा झल्कियो । रोधी बसेर ङोलो र ङोल्स्योहरुबीचको प्रत्यक्ष दोहोरीमा जमेको रोधीले कार्यक्रममा रौनकता बढाएको थियो ।
त ल्हो ल्होसार मूल आयोजक समितिका संयोजक तथा आयोजक संस्था मध्यको तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष राम ल्हेगे गुरुङको अध्यक्षता तथा कतारका लागि नेपाली पर्यटनदूत राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा तमु संस्कार अनुसार क्रेकीद्वारा कार्यक्रमका सभाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ, त्यस्तै अर्को आयोजक संस्था तमु(गुरुङ) समाजका संस्थापक अध्यक्ष तथा संरक्षक राम बहादुर तमुसहित समाज र संघका प्रमुख संरक्षक, क्यब्री गुरु र पच्यु गुरु लगायतलाई क्रेगीद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि शर्मालाई भांग्रा र क्रेगीद्वारा सम्मान गरिएको थियो । कतारमा स्थापित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा सीमित व्यक्तिले शुभकामना मन्तव्य राखेका थिए ।
गुरुङ भेषभुषामा सजिएका सयौं दर्शक राति ८ बजेसम्मै कलाकारका प्रस्तुतिमा झुमे । आदिवासी जनजाति महासंघमा आवद्ध मातृ संस्थाहरूले संयुक्त रूपमा, पाल्पाली सेवा समाज कतार, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति र नेपाल तामाङ प्रवासी समाज महिला विभागले आयोजक संस्थाका महिला विभागका संयोजक तथा महिलाहरूलाई अलग अलग गरी चलिआएको रीतिरिवाज, चालचलन धर्म संस्कृतिको समेत जगेर्ना गर्ने बताउँदै कोसेली प्रदान गरेका थिए भने आयोजकले कार्यक्रमका अन्त्यमा कोसेली प्रदान गरेका संघसंस्थालाई कोसेलीसहित स–सम्मान बिदाइ गरेका थिए ।

गुरुङहरूले हरेक वर्ष छान्ने गरेको तमु राजा (म्रु) छेलो प्रतियोगितामा विजयी हासिल गर्ने व्यक्ति नै राजा हुने प्रचलन अनुसार यस वर्ष २२ प्रतिस्प्रर्धीलाई पछि पार्दै दोर्दी गाउँपालिका वार्ड नं ५ लप्सी बोट लमजुङका सेनबहादुर गुरुङ राजाका रूपमा चयन भएका छन् । गत शुक्रवार राजा छनोट भएपनि ल्होसार कार्यक्रममार्फत उनलाई क्रेगी लगाइ सम्मानसहित प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले कतारका तमुहरूले संयुक्त रूपमा ल्होसारको आयोजना गरेकोमा प्रशंसा गर्दै समाजमा यसले सकारात्मक सन्देश दिएको बताए ।
एकै घरका दुई भाइ दुई तर्फ फर्कनेहरूका लागि दुई संस्थाले संयुक्त रूपमा ल्होसारको आयोजना गर्दै सकारात्मक सन्देश दिएको बताए ।

उनले एनआरएनएको अभियानमा आफू लामो समय देखि लागेको हुँदा श्रम गरेर परिवार मात्र पालन नभई मध्यपूर्वबाट देश विकासमा उत्तिकै योगदान दिएका श्रमिकहरूलाई राज्यले उचित सम्मान गर्नु पर्ने बताउँदै स्वदेशमा संयुक्त लगानी गर्नु पर्ने अवस्था आएको बताउँदै कतारको कानुनलाई अक्षरशः पालना गर्न सबैलाई आग्रह गरे । गुरुहरू नवीन टु गुरुङ (क्यब्री गुरु) र अशोक सर्बुजा गुरुङ (पच्यु गुरुले आशिमाला पढेर देवी देवता कुल पितृलाई सम्झँदै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
विधिगत रूपमा दीप प्रज्वलन गरेर तमु राष्ट्रिय राष्ट्रिय गान (तमु हयुल क्वोई) गरिएको कार्यक्रममा तमु (गुरुङ) समाजका अध्यक्ष चन्द्र तमुले गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
फलेन्द्र तमु, धन तमु, रश्मि गुरुङ र सुजन गुरुङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष राम ल्हेगेले ल्होसार कार्यक्रम सम्पन्न गर्न मूल आयोजक समितिसहित दुवै संस्थाका संरक्षक सल्लाहकारहरूको मेहनतको प्रशंसा गरे । कार्यक्रमलाई सफल बनाउन विभिन्न स्थानबाट विभिन्न व्यक्ति संघ संस्थाहरुले विशेष सहयोग गरेको स्मरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

आयोजकद्वारा कार्यक्रमको प्राङ्गणलाई तोरण, बेलुन र मालाले झकिझकाउ बनाइएको थियो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्य रूपमा मनाउँछन्। तर, उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ । गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँछन् ।

