
काठमाडौं : अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अपहरण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा भेनेजुएलाका राष्ट्रपति मादुरो र प्रथम महिला फ्लोरेसलाई पक्राउ गरिएको हो ।
राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतंकवाद सैन्य एकाइ हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा ठुलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको सनसनीपूर्ण दाबी गरेका छन् ।
उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन् । मदुरोलाई पक्राउ गरिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाविरुद्ध थप कदम नचालिने ठानेका एक रिपब्लिकन सिनेटरले बताएको बिबिसीले जनाएको छ ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन् । सरकारले उनीहरू दुवैको ‘तत्काल जीवनको प्रमाण’को माग गरेको उनले बताएकी छन् । तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागूऔषध र आतंकवादका अभियोग घोषणा गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सन्देश दिँदै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष कारबाहीका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन् । ट्रम्पले यस अपरेशनलाई ‘अत्यन्त सफल’ भन्दै यसबारे थप जानकारी दिन फ्लोरिडास्थित आफ्नो निवास उनले पत्रकार सम्मेलन गरेका छन् । उनले यो कारबाही अमेरिकी कानुन कार्यान्वयन गर्ने निकायसँगको समन्वयमा भएको बताइएको छ ।
यसअघि भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न सहरहरूमा शनिबार बिहानैदेखि भीषण विस्फोट र कम उचाइमा विमानहरू उडेका थिए । ला कार्लोटा सैन्य विमानस्थल लगायतका रणनीतिक क्षेत्रहरूमा हमला भएको र धेरै स्थानमा बिजुली आपूर्ति बन्द भएको बताइएको छ । भेनेजुएला सरकारले यसलाई ‘गम्भीर सैन्य आक्रामकता’ भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष निन्दा गरेको छ । साथै, राष्ट्रपति मादुरो र प्रथम महिलाको अवस्थाबारे तत्काल ‘प्रमाण’ दिन समेत अमेरिकालाई माग गरेको छ ।
भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाड्रिनोले विदेशी सेनाको उपस्थितिको सशक्त प्रतिरोध गर्ने घोषणा गर्दै नागरिकहरूलाई सडकमा उत्रन आह्वान गरेका छन् । अमेरिकाले लामो समयदेखि मादुरोमाथि लागुऔषध तस्करीको आरोप लगाउँदै उनको पक्राउका लागि ५ करोड डलरको पुरस्कारसमेत घोषणा गरेको थियो । यो घटनाले दक्षिण अमेरिकी क्षेत्रमा ठूलो राजनीतिक उथलपुथल र तनाव पैदा गरेको छ । भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरण आएको बताइएको छ । भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै ‘अमेरिकी आक्रामकतालाई नस्वीकार्ने’ बताउँदै राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।
भेनेजुएला घटनाका विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन भएको बताएका टिप्पणी गरेका छन् । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमाथि भएको यस प्रकारको नाङ्गो हस्तक्षेपले विश्व स्थापित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिएको उनको ठहर छ । नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकी कदमको सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध गर्नुपर्नेमा जोड दिएका छन् । भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरेर राष्ट्रपतिलाई नै देश बाहिर पुर्याउनुले अन्तर्राष्ट्रिय सुरक्षा र मर्यादालाई जोखिममा पारेको भट्टराईको टिप्पणी छ । एजेन्सीको सहयोगमा