
काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि चुनावी तालमेलको प्रयासमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच छलफल तीव्र बनेको छ । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ ।
भेटमा राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भए पनि सहमति भएको वा नभएको खुलाइएको छैन । यसअघि पनि भेटको तयारी भए तापनि प्रचण्ड काठमाडौं बाहिर रहेकाले सम्भव हुन सकेको थिएन ।
माओवादी नेता वर्षमान पुनले प्रमुख दलहरूबीच छलफल चलिरहेको पुष्टि गर्दै कांग्रेसतर्फबाट तालमेलको प्रस्ताव आएको बताए । तर। टुंगो लागिनसकेको उनको भनाइ छ । आगामी फागुन २० मा राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदैछ ।
बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तीनै दल मिलेमा सातै प्रदेशमा उनीहरूको मतभार अत्यधिक हुने भएकाले अन्य दलहरूको प्रतिस्पर्धा कमजोर हुने विश्लेषण गरिएको छ । पुस २३ गते मनोनयन दर्ताको समय नजिकिँदै जाँदा दलहरूबीच संवाद अझ बाक्लिएको छ । तर नेताहरूले औपचारिक रूपमा छलफलको निष्कर्ष सार्वजनिक गर्न चाहेका छैनन् ।