
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठकको तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
बैठकमा पार्टी समायोजन प्रक्रिया तथा आगामी निर्वाचनसँग सम्बन्धित विषयमा केन्द्रित रहेर छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार विशेषगरी पछिल्लो समय पार्टीभित्र देखिएका संगठनात्मक संरचना, जिम्मेवारी बाँडफाँड र चुनावी रणनीतिबारे सचिवालय सदस्यहरूबीच गहन विचार/विमर्श हुने छ ।
बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि बसेको पहिलो केन्द्रीय सचिवालय बैठक हो । लामिछानेको पुनः सक्रियतासँगै पार्टीको संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट खाका तय गर्ने अपेक्षा गरिएको छ ।
सचिवालय बैठकपछि छिट्टै केन्द्रीय समिति बैठक बस्ने र त्यसबाट महत्त्वपूर्ण राजनीतिक तथा संगठनात्मक निर्णयहरू आउने सम्भावना रहेको झाले बताए ।