२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एकपछि अर्को भारत भ्रमणमा माओवादी पृष्ठभूमिका नेता

shivam cement
२०८२ पुष २० गते १६:३२
Shares
एकपछि अर्को भारत भ्रमणमा माओवादी पृष्ठभूमिका नेता

काठमाडौं : तत्कालीन नेकपा (माओवादी) पृष्ठभूमिका नेताहरूको भारत भ्रमण पछिल्लो समय बाक्लिँदै गएको छ ।

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराई भारत भ्रमण सकेर स्वदेश फर्किएको ११ दिन मात्र बितेको छ ।

डा. भट्टराई पुस ६ गते भारत गएका थिए । भ्रमणका क्रममा उनले भारतमा बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार–विमर्श गरेका थिए । भारतको प्रतिष्ठित शैक्षिक संस्था इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा समेत उनले सम्बोधन गरेका थिए ।

यद्यपि भारत भ्रमणका क्रममा नेपाल–भारतबीचका समसामयिक राजनीतिक विषयमा औपचारिक छलफल भएको वा नभएको विवरण भने सार्वजनिक गरिएको छैन । तर, यस भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । तीन दिने भ्रमण सकेर उनी पुस ९ गते स्वदेश फर्किएका थिए ।

स्वदेश फर्किएको करिब १२ दिनपछि अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी पृष्ठभूमिका नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जान लागेका छन् । प्रचण्ड सोमबार भारत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

भारतमा बसोबास गर्दै आएका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ बनाउने उद्देश्यले पाली समाज भारतको आयोजनामा ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ आयोजना हुन लागेको छ । भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा हुने उक्त कार्यक्रममा सहभागी हुन प्रचण्ड भारत जान लागेका हुन् ।

कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या तथा अवसर, एकता र सहकार्यको महत्त्वबारे समसामयिक छलफल हुने बताइएको छ । भारतमा श्रम, अध्ययन, व्यवसाय तथा विभिन्न पेशामा आबद्ध नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रवासी नेपालीहरूको हकहित, पहिचान र आपसी सहकार्यलाई निरन्तर सुदृढ गर्दै आएको नेपाली समाज भारतको पहलमा आयोजना हुन लागेको यस कार्यक्रमलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोजकका अनुसार कार्यक्रमले नेपाली समुदायबीच एकताको भावना बलियो बनाउने, साझा मुद्दामा सहकार्य बढाउने तथा नेपाल–भारत सम्बन्धमा प्रवासी नेपालीको भूमिकाबारे स्पष्ट दृष्टिकोण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र डा. भट्टराईको भारत भ्रमणले नेपालको सत्ता राजनीतिमा खासै प्रभाव नपर्ने त्रिभुवन विश्वविद्यालय राजनीतिकशास्त्र केन्द्रीय विभागका प्रमुख तथा सहप्राध्यापक श्याम फूएल बताउँछन् ।

उनका अनुसार, ‘उहाँहरू दुवै अहिले दलीय शीर्ष नेताका रूपमा सक्रिय हुनुहुन्छ । पार्टीका विभिन्न संघ–संगठन स्वदेश मात्र होइन, विदेशमा पनि क्रियाशील छन् । ती संगठनहरूलाई चलायमान बनाउन भारत जानुभएको हुन सक्छ । यसले तत्काल नेपालको सत्ता राजनीतिमा प्रभाव पार्दैन ।’ 

जेनजी आन्दोलनयता माओवादी पृष्भूमिका अन्य नेताहरू पनि भारतमा नियमति आउने जाने गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रेस विज्ञप्ति ।।

नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुन गइरहेको छ। नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमप्रति भारतभर रहनुहुने नेपाली समुदायमा उत्साह बढ्दै गएको छ।

उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक, आदरणीय नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको गरिमामय उपस्थिति रहनेछ। कार्यक्रममा उहाँद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिनेछ।

भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। नेपाली समाज भारतले प्रवासी नेपालीहरूको हक–हित, पहिचान र आपसी सहकार्यलाई निरन्तर सुदृढ बनाउँदै आएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।

यस ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन भारतमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई नेपाली समाज भारतले हार्दिक रूपमा आह्वान गरेको छ।

कार्यक्रम विवरण:
मिति: ०५ जनवरी २०२६, सोमवार
समय: दिउँसो ०१:०० बजे
स्थान: लाजपत भवन अडिटोरियम
लाजपत नगर, नयाँ दिल्ली – ११००२४
(मूलचन्द मेट्रो स्टेशन नजिक)

आयोजक:
आरबी खड़का 
महासचिव 
नेपाली समाज भारत

सम्बन्धित खबर