
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ५८औं केन्द्रीय समिति बैठकले पार्टी समायोजनपछि ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पुस २० गते पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले संगठन सुदृढीकरण र आगामी निर्वाचन केन्द्रित निर्णयहरू गरेको हो ।
बैठकबाट केन्द्रीय समितिमा मनोनयन हुनेहरूमा समिक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् । पार्टी नेतृत्वले समायोजन प्रक्रियापछि संगठनलाई थप समावेशी र प्रभावकारी बनाउने उद्देश्यले मनोनयन गरिएको जनाएको छ ।
त्यसैगरी बैठकले पार्टी समायोजन र निर्वाचन तयारीलाई केन्द्रमा राख्दै दुई वटा महत्वपूर्ण उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोटको प्रत्याभूति गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय भएको छ । उक्त उपसमितिलाई योग्य उम्मेदवार तथा छनोट प्रक्रियाबारे सिफारिस गर्ने जिम्मेवारी दिइएको छ भने सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ ।
यसैगरी पार्टी एकता र समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिएको छ । यस उपसमितिका सदस्यहरू पनि पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय बैठकले गरेको छ ।
रास्वपाले यी निर्णयहरूले संगठनात्मक एकता मजबुत बनाउँदै आगामी निर्वाचनका लागि स्पष्ट रणनीति तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।