२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मुसिकोटमा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री बरामद

shivam cement
प्रचण्ड खत्री
२०८२ पुष २० गते २०:०९
Shares
मुसिकोटमा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री बरामद

रुकुम पश्चिम : रुकुम पश्चिमको सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा आइतबार मुसिकोट नगरपालिका अन्तर्गत विभिन्न स्थानका खाद्य तथा किराना पसलहरूमा अनुगमन गरिएको हो । 

मुसिकोट नगरपालिका वडा नम्बर १ को कालिकास्थानदेखि त्रिवेणी चोक, वडा नम्बर ५ बागबजार र सेरिगाउँ क्षेत्रका पसलहरूमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले जानकारी दिए । 

अनुगमनका क्रममा उपभोग्य सामग्रीको म्याद सकिएको तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ विपरीत रहेका खाद्य पदार्थहरू बरामद गरिएको उनले बताए । अनुगमन गरिएका पसलहरूबाट कुल ५२ हजार २ सय १५ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ ।

बरामद सामग्रीमध्ये खाद्यान्न २१ हजार ६ सय ३४ रुपैयाँ, हल्का पेय पदार्थ ६ हजार ४ सय ६० रुपैयाँ, मसला ४ सय ३० रुपैयाँ तथा चकलेट र बिस्कुट २३ हजार ६ सय ९० रुपैयाँ बराबर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। बरामद गरिएको सम्पूर्ण सामग्री आजै नष्ट गरिने बजार अनुगमन समितिले जानकारी दिएको छ ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, पत्रकार तथा युवा मानव अधिकार समूहको संयुक्त सहभागिता रहेको थियो ।

यसअघि शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेको टोलीले चौरजहारी नगरपालिकाका होटल तथा रेस्टुरेन्टहरूमा अनुगमन गर्दा २४ हजार ९ सय १० रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको थियो । 

सम्बन्धित खबर