
खोटाङ : ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशका विभिन्न दुर्गम जिल्लाका स्वास्थ्यचौकीलाई नवजात शिशुको जीवन रक्षाका लागि उपयोगी ‘बेबी वार्मर’ (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मियाबाट जोगाउन बैंकले संखुवासभाको सिसुवाखोला हेल्थ पोस्ट र नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको पुजनसेवा नगर अस्पताल तथा पाँचथरको एकतीन हेल्थ पोस्टमा उक्त उपकरण प्रदान गरेको हो ।
बैंकले आफ्नो शाखा नभएका स्थानमा समेत पुगेर यी उपकरण उपलब्ध गराउँदै सुरक्षित प्रसूति सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ । उपकरण हस्तान्तरणसँगै बैंकले सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई मेसिन सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरेको जनाएको छ ।
ज्योति विकास बैंकले हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको छ । साथै, बैंकले सामाजिक कार्यका लागि आफ्नो मुनाफाबाट अन्य बैंकको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ ।