
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभामा पार्टी संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले आसन्न राष्ट्रिय सभा निर्वाचनमा अन्य दलहरूसँग रणनीतिक तालमेल गरेर अघि बढ्ने तयारी रहेको बताएका छन् ।
सोमबार जमलमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्नेबारे कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको बताएका हुन् । तर प्रतिनिधि सभाको आम निर्वाचनमा भने गठबन्धन नगर्ने पार्टीको स्पष्ट अडान रहेको उनले बताए ।
सिटौलाले भने, “राष्ट्रिय सभामा एक्लै लड्दा राम्रो नतिजा नआउने भएकाले सबै प्रतिनिधित्व गर्ने दलहरूसँग साझा सहकार्य उपयुक्त हुन्छ । आजको कार्यसम्पादन समिति बैठकले क्लस्टर र गठबन्धनका विषयमा टुंगो लगाउनेछ ।”
उनले कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेशकेन्द्रित दलहरूसँग पनि छलफल अघि बढाएको जानकारी दिए ।
प्रतिनिधि सभाको निर्वाचनबारे उनले प्रस्ट पारे, “प्रतिनिधि सभामा एक्लै लड्ने कांग्रेसको बटम लाइन हो । जनतासामु आफ्नै विचार र कार्यक्रम लिएर जानुपर्छ ।”
पार्टीभित्र चलिरहेको विशेष महाधिवेशनको विवादबारे सिटौलाले कडा अडान लिए । “विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं । कांग्रेस फुट्न वा कमजोर हुन दिँदैनौं,” उनले भने । विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै उनले थपे, “पार्टीभित्र झगडा गराएर कमजोर बनाउने चाहना पूरा हुन दिँदैनौं ।”
१५औँ महाधिवेशनमा सभापति उम्मेदवारीबारे भने सिटौलाले अहिले छलफलको समय नभएको बताए । “आम निर्वाचनपछि मात्र महाधिवेशन र नेतृत्वबारे कुरा हुन्छ । सभापतिज्यूले कसलाई उम्मेदवार बनाउने भन्ने हामीसँग भन्नुभएको छैन,” उनको भनाइ थियो । वैशाखमा तोकिएको महाधिवेशन र फागुनको निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताए ।