
एजेन्सी : अमेरिकाको न्युयोर्क सिटीस्थित एक संघीय अदालतमा सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उपस्थित गराइयो । अदालत भवनको ढोकाबाट भित्र प्रवेश गर्नु अघि उनका खुट्टामा लगाइएका साङ्लाहरूको आवाज सुनिन्थ्यो, जसले उक्त पेशीको गम्भीरता झल्काउँथ्यो ।
अदालत कक्षमा प्रवेश गरेलगत्तै मदुरोले पत्रकार र सर्वसाधारणले भरिएको दर्शक दीर्घातर्फ हेर्दै आफूलाई ‘अपहरण गरिएको’ दाबी गरे । उनको उपस्थितिपछि केही मिनेटमै संघीय न्यायाधीश एल्विन हेलरस्टीनले कारबाही सुरु गर्दै मदुरोलाई आफ्नो पहिचान पुष्टि गर्न आग्रह गरे ।
मदुरोले शान्त स्वरमा स्पेनी भाषामा जवाफ दिँदै आफू भेनेजुएला गणराज्यका राष्ट्रपति भएको र जनवरी तीन तारिखदेखि अमेरिकामा जबरजस्ती राखिएको बताए । उनले आफूलाई कराकासस्थित निजी निवासबाट पक्राउ गरिएको दाबी पनि गरे । तर न्यायाधीशले उनलाई बीचमै रोक्दै दोष वा निर्दोषको निर्णय गर्ने विषय अदालतले उपयुक्त समय र स्थान तय गरेर अघि बढाउने स्पष्ट पारे ।
४० मिनेट लामो प्रारम्भिक सुनुवाइ
न्युयोर्कको उक्त अदालतमा करिब ४० मिनेटसम्म चलेको प्रारम्भिक सुनुवाइ निकै संवेदनशील र गम्भीर वातावरणमा सम्पन्न भयो । यस क्रममा मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले लागेका सबै आरोपहरू अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको दाबी गरे । मदुरोले अदालतमा आफू निर्दोष रहेको सभ्य नागरिक रहेको बताए । उनकी पत्नी फ्लोरेसले पनि आफू पूर्ण रूपमा निर्दोष रहेको बताइन् ।
६३ वर्षीय मदुरो र उनकी पत्नीलाई शनिबार भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीका क्रममा पक्राउ गरिएको थियो । उक्त कारबाही रातारात सञ्चालन गरिएको थियो र यस क्रममा केही सैन्य केन्द्रहरूमा आक्रमणसमेत गरिएको बताइएको छ । पक्राउपछि दुवैलाई अमेरिकामा ल्याएर न्युयोर्कको एक जेलमा राखिएको थियो । सुनुवाइका क्रममा मदुरो र फ्लोरेसले नीलो र सुन्तला रंगको जेल पोशाक तथा पाइन्ट लगाएका थिए । स्पेनी भाषाको अनुवाद सुन्न उनीहरूले हेडफोन प्रयोग गरेका थिए । मदुरोले कानुनी नोटप्याडमा ध्यानपूर्वक टिप्पणी लेख्दै गरेको देखिन्थ्यो ।
अदालत कक्षमा प्रवेश गर्दा उनले दर्शक दीर्घामा उपस्थित केही व्यक्तितर्फ फर्केर टाउको हल्लाएर अभिवादन गरे । पुरै सुनुवाइ अवधिभर उनको अनुहार भावनाहीन र संयमित देखिन्थ्यो । सुनुवाइको अन्त्यतिर दर्शक दीर्घामा बसेका एक व्यक्तिले अचानक मदुरोविरुद्ध चिच्याउँदै टिप्पणी गरेका थिए । त्यसमा प्रतिक्रिया दिँदै मदुरोले आफूलाई ‘अपहरण गरिएको राष्ट्रपति र युद्धबन्दी’ भने । अदालतको आदेशमा उक्त व्यक्तिलाई कक्षबाट बाहिर निकालियो ।
मदुरोकी पत्नी सिलिया फ्लोरेस सुनुवाइका क्रममा शान्त देखिइन् । उनका आँखाको वरिपरि र निधार नजिक चोटका चिह्नहरू देखिन्थे । उनका वकिलहरूका अनुसार ती चोटहरू गिरफ्तारीको क्रममा लागेको हो । वकिलहरूले अदालतसँग फ्लोरेसलाई आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।
अमेरिकी अधिकारीहरूले मादुरोमाथि नार्को–आतंकवादको षड्यन्त्र, कोकीन आयातसँग सम्बन्धित षड्यन्त्र, मेसिनगन तथा विनाशकारी हतियार राख्ने षड्यन्त्रजस्ता गम्भीर आपराधिक आरोप लगाएका छन् । यसै मुद्दामा मदुरोकी पत्नी, उनका छोरा तथा अन्य धेरै व्यक्तिमाथि पनि अभियोग दर्ता गरिएको छ । यस मुद्दाको अर्को सुनुवाइ मार्च १७ तारिखमा तोकिएको छ ।
न्यूयोर्कको अदालतमा भएको यो पेशी केवल एक कानुनी प्रक्रिया मात्र नभई अन्तर्राष्ट्रिय राजनीति, कूटनीतिक सम्बन्ध र शक्ति सन्तुलनसँग जोडिएको विषयका रूपमा हेरिएको छ । मादुरोको दाबी अपहरणको छ भने अमेरिकाको दाबी आपराधिक अभियोगको छ । यस प्रकरणको अन्तिम सत्य अब अदालतको फैसला र आगामी सुनुवाइहरूले निर्धारण गर्नेछन् ।