
दोहा, कतार : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि प्रशस्त अवसर रहे पनि गलत बुझाइका कारण लगानी भित्र्याउन सकस भएको बताएका छन् ।
उनले नेपाल सम्भावनाको खानी नै रहे पनि कतिपयले नकारात्मक दृष्टिकोणले हेर्ने गरेकोप्रति दु:ख व्यक्त गरे । उनले प्रवासमा रहेका व्यवसायी तथा नेपालीले आफ्नो बचतको पैसा र सीप समेत आफ्नो देशमा लगानी गरी नेपालको समृद्धिमा टेवा दिनुपर्ने धारणा राख्दै नेपाल लगानीका लागी सुरक्षित राष्ट्र रहेको बताए ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्षसँग औपचारिक बैठकका लागि कतार आएका ढकाल नेपाल व्यवसायी संघ कतार एलएलसी (जी)ले गरेको साक्षात्कार कार्यक्रममा लगानीका बारेमा खुलेर बोले । उनले जेनजी आन्दोलनप्रति लक्षित गर्दै त्यो बेलाको विध्वंशले नेपाललाई ठुलो क्षति पुगेको बताए । “देश विकास भएन, देशमा रोजगारी भएन” भनेर सञ्जालमा हजारौंले लेख्ने, तर देश विकास गरौं रोजगारी पनि सिर्जना गरौं भन्ने उद्देश्यले कहीँ कतै नयाँ प्रोजेक्ट घोषणा गर्यो भने विभिन्न समूहले रोकावट गर्ने दु:ख दिने गरेको तितो अनुभव सुनाउँदै उनले विकासका लागि जनता नै सकारात्मक हुनुपर्ने र सकारात्मक वातावरण बनाउन सबै लाग्नुपर्ने बताए ।

ढकालले नेपालमा उद्योग वाणिज्य महासंघको पहल तथा निजी क्षेत्रका व्यवसायीहरूको संलग्नतामा १० अर्ब रुपैयाँ मूल पुँजी रहने गरी एनडिपी कम्पनी स्थापना गरी लगानीका लागि नयाँ बाटो खोलेको बताए । नयाँ आइडिया, नयाँ सेक्टर र क्लियर भिजन भएका तर लगानीले समस्यामा परेकाहरूलाई एनडिपीले लगानी गरिदिने र हालसम्म १ अर्ब २५ करोड विभिन्न व्यक्तिमार्फत लगानी गरिएको बताए ।
नेपालमा एकल लगानी भन्दा संयुक्त लगानी गर्दा सहज हुनेतर्फ उनले सोच्न व्यवसायीलाई सुझाव दिए । विशेषगरी लगानीका लागि टुरिजम, हाइड्रोपावर, आइटी, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत देखिए पनि नेपालमा हजारौं क्षेत्रमा लगानी गर्न सकिने उनले बताए ।
साक्षात्कार कार्यक्रममा विभिन्न व्यवसायीहरूले आफ्ना धारणासहितको जिज्ञासा राखेका थिए । संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंसहित संघका पदाधिकारीहरूले ढकाललाई मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । संघका महासचिव शंकरप्रसाद न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कतारमा रहेका आम व्यवसायीहरूको हक हित र व्यवसाय प्रवर्धनसहित समृद्ध नेपालको संवाहकको परिकल्पनाको उद्देश्यका साथ स्थापित संघ नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता प्राप्त गर्ने पहिलो वैदेशिक संघका रूपमा रहेको छ ।
