
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङहरूले अझै २० वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् ।
पार्टीमा आबद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।
अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले एमाले-कांग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष ओलीले बालेन शाहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताए ।
अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गरे । सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उनको आरोप थियो ।