२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

चुनाव लड्न सरकारबाट बाहिरिए कुलमान

shivam cement
२०८२ पुष २४ गते ०६:२०
Shares
चुनाव लड्न सरकारबाट बाहिरिए कुलमान

काठमाडौं : ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा रहेका कुलमानले बुधबार राजीनामा दिएका हुन् । 

उनले बुधबार नै प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाए । त्यसपछि पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् सदस्यका रूपमा १ सय १४ दिनमा गरेका कामको चर्चा गरे । 

घिसिङले गत भदौ ३० गते मन्त्रीको शपथग्रहण गरेका थिए । राजीनामा दिएर उनी अब प्रतिनिधि सभा सदस्यको चुनावको तयारीमा लाग्नेछन् । 

उनले सुरुमा निर्वाचन आयोगमा उज्यालो नेपाल दर्ता गराएका थिए । सोही पार्टीलाई रास्वपासँग एकता गराएका छन् । सहमतिअनुसार उनी रास्वपा उपसभापति बनेका छन् । 

गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै आलोचना भएपछि घिसिङ राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । 

मन्त्री खरेलको प्रस्टीकरण- ‘म कुनै पार्टीमा छैन’ 

प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न हुने मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएसँगै मन्त्रीहरूले आफ्नो दलीय संलग्नताबारे मुख खोलेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पारेका छन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुरको एक कार्यक्रममा उनले आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको बताउँदै निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको पनि स्पष्ट पारे ।

मन्त्री खरेल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेको छ । तर हालसम्म उनी पार्टी गतिविधिमा भने खुलेर लागेको देखिएको छैन ।

मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए । आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफलसमेत नगरेको मन्त्री खरेलको दाबी छ । ‘म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु– मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु– म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन,’ उनले भने, ‘वार्ता वा छलफल गरेको छैन । आउँछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र मेरो अहिले सम्पूर्ण ध्यान, यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’

प्रतिनिधि सभा निर्वाचन गराउने दायित्व लिएर बनेको गैरदलीय नागरिक सरकारका मन्त्रीहरूको राजनीतिक संलग्नताबारे प्रश्न उठेको थियो । प्रश्न उठेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । 

रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री घिसिङबीचको सहमतिको साक्षी बनेर सम्झौता हस्तान्तरण स्थलमै देखापरेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भने आफू कुनै दलसँग आबद्ध नभएको दाबी गरेका छन् । 

सम्बन्धित खबर