२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गायिका क्षेत्रीले साझा मञ्चको वार्षिकोत्सवमा विशेष प्रस्तुति दिने

shivam cement
२०८२ पुष २४ गते १२:३४
Shares
गायिका क्षेत्रीले साझा मञ्चको वार्षिकोत्सवमा विशेष प्रस्तुति दिने

दम्माम, साउदी अरब : ‘देशका लागि केही गरौं’ भन्ने मूल नाराका साथ साउदी अरबमा स्थापित सामाजिक संस्था नेपाली साझा मञ्चको १०औं वार्षिकोत्सव तथा चौथो अधिवेशनमा सहभागी हुन चर्चित लोक गायिका तुलसी क्षेत्री साउदी अरब आइपुगेकी छन् ।

शुक्रबार दम्मामस्थित रोज गार्डेन रेस्टुरेन्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रम तथा नववर्ष २०२६ को शुभकामना आदान–प्रदान समारोहमा आफ्नो सांगीतिक प्रस्तुति दिन उनी साउदी आइपुगेकी हुन् । गायिका क्षेत्रीलाई दम्मामस्थित किङ फाहद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली साझा मञ्चका पदाधिकारी तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूले भव्य स्वागत गरेका छन् ।

उनको स्वागतका लागि मञ्चका प्रमुख संरक्षक कृष्ण पुरी, अध्यक्ष अन्जान गुभाजु, सचिव डिबी बलामी मगर, नेवा समाज साउदीका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ तथा दम्माम भेट्रान फुटबल क्लबका अध्यक्ष पदम महतलगायतका सामाजिक व्यक्तित्वहरू विमानस्थल पुगेका थिए ।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै नेपाली साझा मञ्चका सचिव डिबी बलामी मगरले भने, "हामीले संस्थाको १०औं ऐतिहासिक वार्षिकोत्सव र चौथो अधिवेशनलाई एउटा उत्सवको रूपमा मनाउन लागेका छौं । राष्ट्रिय कलाकार तुलसी क्षेत्रीको उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै माटोको सुगन्ध दिलाउने छ । यो केवल एउटा सांगीतिक कार्यक्रम मात्र नभई नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्ने एउटा अभियान पनि हो । हामी सबै प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ऐतिहासिक क्षणको साक्षी बन्न हार्दिक निमन्त्रणा गर्दछौं ।"

नेपाली लोक संगीतको क्षेत्रमा स्थापित नाम तुलसी क्षेत्रीको यो दोस्रो साउदी भ्रमण हो । साउदी अरबको पूर्वी क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा पेशाकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायबीच सांस्कृतिक एकता र उत्साह थप्ने विश्वास आयोजकले लिएको छ ।

मञ्चका अध्यक्ष गुभाजुका अनुसार कार्यक्रममा १०औं वार्षिकोत्सवको खुसीयाली साटासाट गरिनुका साथै अधिवेशनमार्फत नयाँ नेतृत्व समेत चयन गरिनेछ । सन् २०१७ मा स्थापित यस मञ्चले साउदी अरबमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार र विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

शुक्रबार हुने उक्त समारोहलाई ऐतिहासिक र मर्यादित बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको र नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर