
गुल्मी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) गुल्मीले दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरलाई पठाइएको सिफारिस पत्र अनुसार गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ मा पार्टी केन्द्रीय कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक यहीँ पुस १७ गते रुरुक्षेत्र–१ रिडिमा बसेको थियो । उक्त बैठकले अन्य कुनै आकांक्षी नरहेको निष्कर्षसहित ज्ञवालीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जिल्ला पार्टी कार्यालयले जनाएको छ । यद्यपि रुरुक्षेत्र–६ का भीमलाल पौडेलले ह्वाट्सएपमार्फत उम्मेदवारीको आकांक्षा व्यक्त गरेका थिए ।
तर, निर्वाचन कमिटीका संयोजक ठगप्रसाद ज्ञवाली र प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डेसँग भएको छलफलपछि पौडेलले मौखिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी निर्वाचन कमिटीले दिएको छ । उता गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा भने उम्मेदवारी सिफारिसको विषय विवादरहित देखिएको छैन । क्षेत्रीय समन्वय कमिटीको बैठक पुस १६ गते जिल्ला पार्टी कार्यालय तम्घासमा बसेको थियो ।
बैठकमा ६ जना नेताहरूले उम्मेदवारीको चाहना व्यक्त गरेका थिए । तर आपसी छलफल वा सहमति नगरी उपाध्यक्ष गोकर्णराज विष्टको नाम एकल रूपमा सिफारिस गरिएकोप्रति पाँच जना आकांक्षीहरूले असहमति जनाउँदै जिल्ला पार्टी कार्यालयमा निवेदन दिएका छन् । असन्तुष्ट आकांक्षीहरूले आफ्नो उम्मेदवारी यथावत् रहेको जनाउँदै लिखित रूपमा सिफारिस गर्न आग्रह गरेपछि जिल्ला पार्टीले सबै नाम समेटेर केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।
पुस १८ गते बसेको जिल्ला पदाधिकारी बैठकमा जीवन खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यसअनुसार गुल्मी क्षेत्र नम्बर–२ बाट सिफारिस गरिएका सम्भावित उम्मेदवारहरूमा गोकर्णराज विष्ट, रामकुमारी झाँकी, डा. नगेन्द्रबहादुर अर्याल, राजेन्द्र अर्याल र कृष्ण आचार्य रहेका छन् । झाँक्री राष्ट्रिय सभा सदस्यका लागि पनि उम्मेदवार छन् ।
जिल्ला पार्टी अध्यक्ष बालसिंह काउछाका अनुसार सबै प्रक्रियागत निर्णय र रायसुझावसहित सिफारिस केन्द्रमा पठाइएको छ र अन्तिम निर्णय पार्टी केन्द्रीय कमिटीले गर्नेछ ।

