२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रास्वपाद्वारा उम्मेदवार आकांक्षीलाई सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न रोक

shivam cement
२०८२ पुष २४ गते १८:१२
Shares
रास्वपाद्वारा उम्मेदवार आकांक्षीलाई सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न रोक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका आकांक्षी उम्मेदवारहरूलाई सामाजिक सञ्जालमार्फत भइरहेको असमयिक प्रचारप्रसार तत्काल रोक्न निर्देशन दिएको छ ।

पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिद्वारा जारी सूचनामा औपचारिक रूपमा आवेदन दिएका वा नदिएका केही आकांक्षीहरूले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारीको प्रचार गरेको पाइएकाले यस्तो कार्य नगर्न भनिएको छ । नयाँ तथा बाँकी आकांक्षीलाई निरुत्साहित गर्ने भएकाले यस्ता गतिविधि रोक्न र यसअघि सामाजिक सञ्जालमा राखिएका सामग्रीहरू हटाउन निर्देशन दिएको हो ।

सूचनाअनुसार उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिना फोटो सामाजिक सञ्जालमा एकपटक मात्र पोस्ट गर्न पाउने व्यवस्था गरिएको छ । त्यसबाहेक थप प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारिएको छ ।

यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न सकिने जनाइएको छ ।

पार्टीले निर्वाचन आचारसंहिता तथा उम्मेदवार छनोट सिफारिस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूलाई आग्रह गरेको छ । रास्वपाले आन्तरिक प्रतिस्पर्धालाई मर्यादित र निष्पक्ष बनाउन सो निर्देशन आवश्यक भएको बताएको छ ।

सम्बन्धित खबर