
सुर्खेत : सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा १ हजार ८ सय ४० जना निर्वाचन प्रहरी माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय, वीरेन्द्रनगर,इलाका प्रहरी कार्यालय, छिन्चु, भेरीगंगा,इलाका प्रहरी कार्यालय बाबियाचौर पञ्चपुरी, इलाका प्रहरी कार्यालय लेकवेशी, इलाका प्रहरी कार्यालय, बादेपिपिल सिम्ता,इलाका प्रहरी कार्यालय अवलचिङ्ग चिङ्गाड, प्रहरी चौकी मेहेलकुना, गुर्भाकोट, सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गण हे.क्वा. रक्तकाली , सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चिप्ले, भेरीगंगा-११ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गुटु, चौकुने-८, सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश घुमखहरे, गुर्भाकोट-१०, सुर्खेतबाट दरखास्त फाराम पाइने छ ।
त्यस्तै वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गण हे.क्वा. रक्तकाली, सुर्खेतमा दरखास्त फाराम बुझाउने सकिने छ ।
सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । तीमध्ये नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत रहने गरी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ ।
मापदण्डअनुसार भर्ना हुने निर्वाचन प्रहरीले १० दिन तालीम र ३० दिन कार्यस्थलमा सेवा गर्नेछन् । उनीहरूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक र अन्य सेवासुविधा उपलब्ध गराइनेछ । रासन सुविधा भने सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रहरी छनोटपछि आउने–जाने तयारी खर्चबापत प्रति व्यक्ति ८ सय ४६ रुपैयाँ, चार दिनको खाजा खर्च एकमुष्ट १ हजार २ सय रुपैयाँ दिइने व्यवस्था गरिएको छ । तलब, रासन र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामै उपलब्ध गराइनेछ ।
पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेस क्षेत्रअनुसार फरक–फरक हुने उल्लेख छ । नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि निलो डांग्री कपडा र टोपी, भने सशस्त्र प्रहरी मातहत खटिनेका लागि सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी अनिवार्य गरिएको छ।