
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेको छ ।
कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँले बिहीबार एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेका हुन् ।
विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा उभिएको कांग्रेस काठमाडौंले जनाएको छ । सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने बताए ।
कांग्रेस काठमाडौंले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२) अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो ।
सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामना गरेका छन् । –रासस