२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

समयमै सकियो रोपाइँ

ADV
छबि सापकोटा
२०८१ साउन १५ गते ०६:३५
समयमै सकियो रोपाइँ

काठमाडौं : साउन महिनाको १३ गतेसम्मको तथ्यांकअनुसार तुलनात्मक रुपमा गत वर्ष भन्दा यसपटक धान रोपाइँ धेरै भएको छ । समयमै वर्षा हुँदा देशैभरी समयमा नै धान रोपाइँ धेरै हुन पुगेको हो । साउनको १३ गतेसम्म देशैभर ९२.४ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत वर्ष सोही अवधिसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो । गत वर्षको तुलनामा १४.३ प्रतिशतले रोपाइँ बढी भएको हो । यो वर्ष १३ लाख ९८ हजार भन्दा बढी हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएकोमा साउनको दोस्रो सातासम्ममा नै १२ लाख ९२ हजार २२१.५७ हेक्टरमा रोपाइँ भएको हो । 

गत वर्ष साउन सकिँदा समेत रोपाइँ बाँकी रहेको अवस्थामा अहिले साउनको दोस्रो सातामै ९२ प्रतिशत भन्दा बढी रोपाइँ भएको तथ्यांकले देखाएको छ । यस वर्ष मनसुनले साथ दिँदा किसानले समयमै धान रोप्न पाएका हुन् । अझैपनि वर्षा निरन्तर भइरहेको हुँदा रोपेको धान समेत सप्रिएको छ । समयमा मनसुन शुरु भएर नियमित वर्षा भएको कारण समेत समयमा नै रोपाइँ धेरै भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । नियमित वर्षाको कारण धान रोपाइँ क्षेत्रपनि बढ्ने सम्भावना रहेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए । 

कुन प्रदेशमा कति रोपाइँ ? 

साउनको दोस्रो सातासम्म सुदूरपश्चिम प्रदेशमा लगभग रोपाइँ सम्पन्न भइसकेसको छ । सुदूरपश्चिममा साउन १३ गतेसम्म ९९.६ प्रतिशत रोपाइँ सकिएको हो । सुदूरपश्चिममा गत वर्षपनि सोही अवधिमा ९९.२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा एक लाख ७५ हजार ५७६ हेक्टर क्षेत्रमध्ये एक लाख ७३ हजार सात सय ९९ हेक्टरमा रोपाइँ भएको हो । 

यस्तै कर्णाली प्रदेशमा पनि ९६.९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सो समयमा ८५ प्रतिशत मात्र रोपाइँ भएको थियो । कर्णालीमा अहिलेसम्म ४० हजार ६२३ हेक्टरमा रोपाइँ भएको छ । यस्तै मधेस प्रदेशमा पनि ९२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष अहिलेसम्म मधेस प्रदेशमा ५८.८ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो । 

मधेस प्रदेशमा गत वर्ष भन्दा  ३३.२ प्रतिशत बढी रोपाइँ भएको छ । मधेसमा तीन लाख ५२ हजार ४४३  हेक्टरमा धान रोपाइँ भएको छ । यस्तै गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा ८२.३ प्रतिशत रोपाइँ भएको थियो । लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत रोपाइँ भएको छ । 

गत वर्ष साउनको दोस्रो सातासम्ममा लुम्बिनीमा ८०.९ प्रतिशत रोपाइँ सकिएको थियो । बागमती प्रदेशमा ९०.८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष बागमतीमा ८०.१ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise