
सुर्खेत : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशभर ९ हजार ७ सय ४३ निर्वाचन प्रहरी माग गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका लागि ९ हजार ७ सय ४३ निर्वाचन प्रहरी माग गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्लामा निर्वाचन प्रहरी माग गरिएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी केदार खनालका अनुसार सबैभन्दा बढी निर्वाचन प्रहरी माग गरिएको सुर्खेतमा १ हजार ६ सय २८, दैलेखमा १ हजार ३ सय ७८, सल्यानमा १ हजार ३ सय १०, कालिकोटमा १ हजार १ सय २, जाजरकोटमा ८ सय ८६, जुम्लामा ८ सय ७८, मुगुमा ५ सय ८०, डोल्पामा ५ सय ७९, हुम्लामा ५ सय ४९ निर्वाचन प्रहरी माग गरिएको छ ।
सूचना अधिकारी खनालका अनुसार निर्वाचन प्रहरीका लागि पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने छ ।
सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । तीमध्ये नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपिएफ) मातहत रहने गरी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ ।
डोल्पासँगै अर्को कर्णालीको हिमाली जिल्ला हुम्लामा पनि निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी मातहत ५ सय ४९ जना र सशस्त्र प्रहरी बल मातहत ४५ जना निर्वाचन प्रहरी माग गरिएको छ ।
सरकारले तोकेको मापदण्डअनुसार भर्ना हुने निर्वाचन प्रहरीले १० दिन तालिम र ३० दिन कार्यस्थलमा सेवा गर्नेछन् । उनीहरूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक र अन्य सेवासुविधा उपलब्ध गराइनेछ । रासन सुविधा भने सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रहरी छनोटपछि आउने–जाने तयारी खर्चबापत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ, चार दिनको खाजा खर्च एकमुष्ट १ हजार २ सय रुपैयाँ दिइने व्यवस्था गरिएको छ । तलब, रासन र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामै उपलब्ध गराइनेछ ।
पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेश क्षेत्रअनुसार फरक–फरक हुने उल्लेख छ । नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि निलो डांग्री कपडा र टोपी तथा सशस्त्र प्रहरी मातहत खटिनेका लागि सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी अनिवार्य गरिएको छ ।