
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने स्पष्ट पारेका छन् । नेविसंघका केन्द्रीय सदस्यहरूसँग शुक्रबार निवासमा भएको भेटमा उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
भेटमा नेविसंघ नेताहरूले विशेष महाधिवेशनका विषयमा देखिएको मतभेदले पार्टी एकतामा असर पर्न सक्ने भन्दै सभापतिले सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गरेका थिए । जवाफमा देउवाले संवाद र सहकार्यबाट असमझदारी समाधान गर्दै पार्टीलाई एकढिक्का राख्ने बताएका छन् ।
कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद चर्किरहेका बेला पुस २७ र २८ गते विशेष महाधिवेशन हुने तय भएको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विधान कार्यान्वयनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन आह्वान गरेका हुन् ।