
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, त्यहाँका राष्ट्रपतिमाथि गरिएको नियन्त्रण र अमेरिकामा मुद्दा चलाइएको घटनालाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रविपरीत भन्दै विरोध जनाएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले यस्ता घटनाले सार्वभौमसत्ता, अहस्तक्षेप र अन्तर्राष्ट्रिय न्यायका मान्यतामाथि गम्भीर आघात पुर्याएको बताएका हुन् । उनले विश्व राजनीति झन् अस्थिर र जोखिमपूर्ण बन्दै गएको उल्लेख गर्दै नियममा आधारित अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताए ।
शक्ति राष्ट्रबीचको अस्वस्थ प्रतिस्पर्धाले सार्वभौम राष्ट्रको भू–भाग र नेतृत्वमाथि हस्तक्षेप बढेको, निर्दोष नागरिकमाथि हिंसा र नरसंहारका घटना बढ्दै गएको ओलीको भनाइ छ । कृत्रिम बौद्धिकता, सूचना प्रविधिको सामरिक प्रयोग र जलवायु संकटले नयाँ असुरक्षा सिर्जना गरिरहेको पनि उनले उल्लेख गरे ।
ओलीले एमाले स्वतन्त्र परराष्ट्र नीति, पञ्चशील, असङ्लग्नता र सबैसँग मित्रता, कसैसँग शत्रुता छैन भन्ने नीतिप्रति दृढ रहेको स्पष्ट पारे। साथै, युक्रेन, गाजा, वेस्ट ब्यांक, ग्रिनल्याण्ड, बंगलादेश र म्यान्मारका घटनाप्रति पनि एमालेले आपत्ति र चिन्ता जनाएको बताए ।