२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रतिगमनलाई परास्त गरेर संविधान र लोकतन्त्र पुनर्स्थापना गर्न एमाले दृढ : अध्यक्ष ओली

shivam cement
२०८२ पुष २६ गते १५:४३
Shares
प्रतिगमनलाई परास्त गरेर संविधान र लोकतन्त्र पुनर्स्थापना गर्न एमाले दृढ : अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन, अराजकता र विध्वंसका प्रयासलाई परास्त गर्दै मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउन पार्टी दृढतापूर्वक अघि बढ्ने बताएका छन् । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र अझैं संकटमा रहेको भन्दै निर्वाचन, प्रतिनिधिसभा पुनर्स्थापना र राष्ट्रिय एकताका विषयमा स्पष्ट राजनीतिक अडान सार्वजनिक गरे । 

शनिबार सम्पन्न बैठकमा ओलीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनले एमालेलाई थप एकताबद्ध, सशक्त र जुझारु बनाएको दाबी गरे । ‘तीन महिनाअघि भदौ २३–२४ मा भएको विध्वंसपछि सबैभन्दा ठूलो क्षति बेहोरेको पार्टी एमाले नै हो,’ उनले भने, ‘तर त्यही पार्टीले छोटो समयमै आफूलाई सम्हाल्दै भव्य महाधिवेशन सम्पन्न गर्‍यो, जसले लोकतन्त्रका पक्षधर शक्तिहरूलाई आत्मबल दिएको छ ।’

‘भदौ २३–२४ को विध्वंस नियोजित षड्यन्त्र’

अध्यक्ष ओलीले भदौ २३–२४ का घटनालाई स्वतःस्फूर्त आन्दोलन नभई लोकतन्त्र समाप्त पार्ने नियोजित षड्यन्त्रको हिस्सा भएको पुनः दोहोर्‍याए । उनले त्यस दिन कार्यकारी, विधायिकी र न्यायिक संरचनामाथि एकैसाथ आक्रमण भएको उल्लेख गर्दै विध्वंसलाई वैध ठहर गर्ने प्रयासहरू अस्वीकार्य रहेको बताए । 

उनका अनुसार, त्यसपछिको राजनीतिक ध्रुवीकरण ‘पुराना र नयाँ दल’को बहसभन्दा पनि लोकतन्त्र जोगाउने कि विध्वंसलाई वैधता दिने भन्ने विषयमा केन्द्रित हुँदै गएको छ । ‘पपुलिजम र अराजकताले समस्या समाधान गर्दैन, उल्टै मुलुकलाई भूराजनीतिक जोखिमतर्फ धकेल्छ,’ ओलीले चेतावनी दिए ।

निर्वाचनमा एमाले सधैं तयार

आगामी आम निर्वाचनका सन्दर्भमा ओलीले एमाले लोकतान्त्रिक निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पारे । तर हालको अवस्थामा शान्तिपूर्ण र भयरहित निर्वाचनको वातावरण नबनेको उनको ठहर छ । भदौ २४ पछि लुटिएका हतियार फिर्ता नभएको, फरार कैदीहरू बाहिरै रहेको र सुरक्षा निकायको मनोबल कमजोर बनाइएको अवस्थालाई उनले गम्भीर चुनौतीका रूपमा उल्लेख गरे । 
यद्यपि उनले ढिलो चाँडो निर्वाचन हुने नै भएकाले पार्टी पङ्क्तिलाई सधैं तयारी अवस्थामा रहन निर्देशन दिए ।

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा

ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दोहोर्‍याउँदै यसको पुनर्स्थापना अपरिहार्य रहेको बताए । सर्वोच्च अदालतमा दायर मुद्दामा प्रतिनिधिसभाका बहुसंख्यक सदस्य सहभागी भइसकेको उल्लेख गर्दै उनले ढिलो न्याय भनेको अन्याय हुने धारणा व्यक्त गरे । ‘पुनर्स्थापना, सर्वपक्षीय सरकार, संवाद र त्यसपछि निर्वाचन नै राजनीतिक संकक्रमण समाधानको सुरक्षित बाटो हो,’ उनले भने ।
 

उम्मेदवार छनोट र आन्तरिक एकता

उम्मेदवार छनोटका क्रममा केही गुनासो आएको स्वीकार गर्दै ओलीले अन्तिम निर्णय पार्टी नेतृत्वले सबै पक्षलाई ध्यानमा राखेर गर्ने बताए । निर्णयपछि सबै आकांक्षी र पार्टी पंक्ति एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्ने उनको आग्रह छ । 

महाधिवेशनपछि आन्तरिक लोकतन्त्र थप सुदृढ भएको दाबी गर्दै उनले पक्षधरता वा समूहबन्दीका आधारमा भिन्न व्यवहार नहुने स्पष्ट पारे ।

विश्व राजनीति र परराष्ट्र नीति

विश्व राजनीतिमा बढ्दो अस्थिरता, शक्ति राष्ट्रको अस्वस्थ प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय कानुनको अवहेलनाप्रति ओलीले चिन्ता व्यक्त गरे । एमाले स्वतन्त्र परराष्ट्र नीति, असंलग्नता र सबैसँग मित्रता, कसैसँग छैन शत्रुताको मान्यतामा अडिग रहेको उनले बताए । 

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, युक्रेन र प्यालेस्टाइनसँग सम्बन्धित घटनाक्रम, बंगलादेशका अल्पसंख्यक समुदायमाथि आक्रमण र म्यान्मारको राजनीतिक अवस्थाप्रति एमालेको आलोचनात्मक दृष्टिकोण पनि उनले सार्वजनिक गरे ।

सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान

तराई–मधेशका केही स्थानमा देखिएका सामाजिक सद्भाव खलबलिने घटनाप्रति चिन्ता जनाउँदै ओलीले सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई आह्वान गरे । ‘विविधता हाम्रो शक्ति हो, यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन,’ उनले भने । 

कार्यक्रमको अन्त्यमा ओलीले पार्टी कार्यकर्ताहरूलाई देशकै भविष्यको रूपरेखा कोर्ने अग्रणी योद्धा भएको स्मरण गराउँदै प्रतिगमनलाई पूर्ण रूपमा परास्त गर्ने संकल्पका साथ अघि बढ्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर