
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकतामा सहमति नजुटेपछि उज्यालो नेपाल पार्टीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ । विगतका सहमति र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई दलबीचको सहकार्य टुंगिएको दुवै पक्षले बताएका छन् ।
सहकार्य समाप्त भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उज्यालो नेपालको केन्द्रीय कमिटी बैठक जारी रहेको नेता गणेश घिसिङले जानकारी दिए । उनका अनुसार बैठकले कुलमान घिसिङलाई पार्टी अध्यक्ष घोषणा गर्ने तयारी छ । उक्त निर्णयसँगै कुलमानले साढे पाँच बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्नेछन् ।
रास्वपाले सैद्धान्तिक विषयमा सहमति नदेखाएको उज्यालो नेपालको दाबी छ भने रास्वपाले भने उज्यालो नेपाल पक्षले भागबन्डा र नेतृत्वमा अत्यधिक दाबी गरेको आरोप लगाएको छ । यी दुवै दलबीच गत पुस १३ गते एकता गर्ने सहमति भएको थियो ।