२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रुकुममा नेकपाको शक्ति प्रदर्शन, रुकुमपूर्वबाट चुनाव लड्दै प्रचण्ड

shivam cement
अर्जुन बिष्ट
२०८२ पुष २७ गते ०६:२५
Shares
रुकुममा नेकपाको शक्ति प्रदर्शन, रुकुमपूर्वबाट चुनाव लड्दै प्रचण्ड

रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टीले शनिबार रुकुममा शक्ति प्रदर्शन गरेको छ । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेकपाले देशव्यापी एकता सन्देश सभा गरिरहेको छ । जसअन्तर्गत शनिबार रुकुममा सभा राखेर नेकपाले शक्ति प्रदर्शन गरेको हो । 

नेताहरूले शनिबारको सभामा १० हजार बढी मानिस उतारेको दाबी गरेको छ । नेकपाले शक्ति प्रदर्शन गर्नुको कारण हो– आगामी चुनावमा रुकुमबाटै चुनाव लड्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको तयारी । प्रचण्डले यसका लागि देशव्यापी सन्देश दिनेगरी एकता सन्देश सभामा नेता/कार्यकर्ता उतारेका हुन् । सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट घोषणासमेत गरेका छन् । 

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गते हुँदै छ । यसका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ११ गते छ । उम्मेदवारी दर्ताको समय नजिकिँदै गएका बेला प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेका हुन् । 

२०६४ मा पहिलोपटक निर्वाचन लडेका प्रचण्डले हरेकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ मा भएको संविधान सभा निर्वाचनमा प्रचण्ड रोल्पा २ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । दुवै ठाउँबाट विजयी भए ।

२०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा उनी काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बनेका थिए । काठमाडौंबाट पराजित भए पनि उनी सिरहाबाट विजयी बने ।

संविधान सभाबाट संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आमनिर्वाचनमा उनी गृहजिल्ला चितवन २ बाट उम्मेदवार बने र विजयी पनि भए ।

२०७९ मा भएको निर्वाचनमा उनी गृहजिल्ला चितवन छाडेर गोरखा २ मा निर्वाचन लड्न गए । त्यहाँ पनि उनी विजयी बने । यसपटक रुकुमपूर्वबाट चुनाव लड्न लागेका हुन् । 

रुकुम तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको आधार इलाका हो । माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध गर्‍यो । रुकुम–रोल्पालाई आधार इलाका बनाएर युद्धमा होमिएका प्रचण्ड सोही क्षेत्रबाट चुनाव लड्न लागेका हुन् । 

नेताहरूका अनुसार सशस्त्र युद्धको प्रारम्भिक चरणमै रुकुम माओवादी आन्दोलनको मुख्य आधार क्षेत्र बनेको थियो । भौगोलिक विकटता, राज्यको कमजोर उपस्थिति र ऐतिहासिक असन्तोषले रुकुमलाई विद्रोहका लागि उर्वर भूमि बनाएको थियो । यही भूमिबाट जनमुक्ति सेनाको संगठन विस्तार भएको थियो । जनसरकार गठन भए र वैकल्पिक राज्यसत्ताको अभ्यास भएको थियो । निर्वाचित सरकारको अभ्यास गर्नेगरी प्रचण्डले यसपटक सोही क्षेत्रबाट चुनाव लड्ने निधो गरेका छन् । 

कतिपय नेताहरू रुकुम पश्चिमलाई तत्कालीन नेकपा माओवादी आन्दोलनको आत्मिक थलोका रूपमा समेत लिन्छन् । युद्धका कठिन वर्षहरूमा प्रचण्डले यही क्षेत्रलाई आधार बनाएर राजनीतिक सन्देश प्रवाह गरेका थिए । अब चुनाव जितेर अर्को सन्देश दिन खोजिरहेका छन् । 

प्रचण्डलाई प्रश्न गर्नेहरू पनि छन् । जनयुद्धपछि पनि जिल्ला किन अझै पछि छ ? नेताहरू सिंहदरबार पुगे, गाउँ किन खाली हुँदै गयो ? भन्ने प्रश्नको जवाफ प्रचण्डले दिनुपर्नेहुन्छ ।

नेताहरूका अनसार रुकुम पश्चिमका जनताले केवल जनयुद्धको कथा मात्रै सुन्न चाहेका छैनन् । उनीहरूको अपेक्षा स्पष्ट छ । रोजगारी सडक र पूर्वाधार शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गर्नुपर्ने माग छ ।

सम्बन्धित खबर