
काठमाडौं : आगामी निर्वाचनमा वैकल्पिक शक्ति एकै ठाउँ नरहने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एकीकृत हुन सहमत भइसकेर पनि उज्यालो नेपाल पार्टी एकता प्रक्रियाबाट बाहिरिएको छ । यससँगै आगामी चुनावमा कुलमान घिसिङ नेतृत्वको पार्टी एउटा वैकल्पिक शक्तिका रूपमा रहने भएको छ । रास्वपा वैकल्पिक शक्तिलाई ध्रुवीकरण गर्न लागिरहेकै छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रास्वपामै समाहित भएका छन् ।
वैकल्पिक शक्ति एकै ठाउँमा रहने प्रयासले सफलता प्राप्त गर्न नसक्नुको कारण रास्वपासँगको एकता प्रयासबाट कुलमान घिसिङ बिच्किनु हो । घिसिङले पत्रकार सम्मेलन नै गरेर रास्वपासँगको सहमतिमा धोका भएको बताए । घिसिङले यही पुस १४ गते रास्वपासँग सहमति गरेका थिए । सो सहमतिपत्रमा रास्वपा तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपालबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए । साक्षीका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको हस्ताक्षर थियो । सो सहमति यति चाँडै भत्किनुको कारणबारे उनी भन्छन्, ‘यो १२ दिन मेरा लागि ठुलो बिलखबन्दमा, कता जाने भन्ने नै अन्योलमा भएको परिस्थिति, आगाडि बढौं भने उहाँहरू अघि बढ्न नदिने, पछि जाऔं भने आमनेपाली र जेनजी भाइबहिनीहरूको सपनालाई पूरा गर्न पछि हट्न नमिल्ने अवस्था थियो ।’ उनले सहमतिका बुँदा रास्वपाले नै कार्यान्वयन गर्न नमानेको समेत उनले बताए ।
रास्वपासँग सहमति भएपछि उज्यालो नेपाल पार्टीका तर्फबाट समेत केही व्यक्तिको नाम रास्वपाको समानुपातिक तर्फको सूचीमा परेको छ । पत्रकार सम्मेलनमा घिसिङले मिलेसम्म समानुपातिकका लागि प्रयत्न गर्ने र नसके प्रत्यक्षमा मात्रै चुनाव लड्ने बताए । घिसिङले भनेका छन्, ‘भएन (समानुपातिक सूचीमा काम हुन सकेन) भने प्रत्यक्षमा मात्रै चुनाव लड्छौं ।’
नेताहरूका अनुसार संघीयता, पहिचान, गणतन्त्र र धर्मनिरपेक्षतासहितका विषयमा लिखित प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने मागमा रवि लामिछाने र बालेन शाह सहमत नभएपछि कुलमान घिसिङ बिच्किएका हुन् । २०७९ को चुनावमा रास्वपाले प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएको थिएन । साथै, रास्वपा सभापति लामिछाने र काठमाडौंका मेयर बालेनले प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानसमेत गरेका थिएनन् । साथै, रास्वपाले राष्ट्रिय सभाको निर्वाचनमा समेत भाग लिएको छैन । यो पृष्ठभूमिमा नवगठित रास्वपाभित्र वैचारिक अस्पष्टताबारे पेचिलो गरी प्रश्न उठेको थियो । यहीबेला घिसिङले आफ्नै ढंगले अगाडि बढ्ने निर्णय लिएका हुन् ।
यसका साथै, केन्द्रीय सदस्यमा कति जना, समानुपातिक सूचीमा कति जना रहनेलगायतका विषयमा समेत कुरा नमिलेपछि कुलमान उज्यालो नेपाल पार्टीबाटै अगाडि बढ्न खोजेका हुन् । घिसिङ आफ्नैको महत्वकांक्षाले समेत रास्वासँगको यात्रा लामो जान सकेन ।
नेताहरूका अनुसार रवि र कुलमानबीच निकै धेरैपटक छलफल भएर एकता भएर पनि टिकेन । सहकारी ठगी प्रकरणमा जेलमा रहेका रविसँग कुलमानको त्यसबेलै पनि कुराकानी गरेका थिए । रविले धरौटीमा रिहा भएलगत्तै पनि भेट गरेका थिए । नेताहरूका अनुसार सुरुमा रविले घिसिङलाई नै प्रधानमन्त्री बनाउनेबारे छलफल गरेका थिए । त्यसमा ठोस प्रगति नहुँदै बालेन रास्वपामा जोडिए र बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत हुनेगरी सहमति भयो । त्यसपछि कुलमानले आफ्नो नेतृत्व स्वीकार गर्नेमा बालेन ढुक्क थिए । तर घिसिङ तयार भएनन् ।
रास्वपाबाटै कुलमान अगाडि नबढ्नुको कारणमा पहिचान पक्षधर नेताहरूको दबाबले समेत काम गरेको छ । कुलमानले उज्यालो नेपाल पहिचानवादी नेताहरूलाई सामेल गरेका छन् । प्राध्यापक महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम, खगेन्द्र माखिमलगायतका पहिचान पक्षधरहरू उज्यालोले पहिचानको मुद्दा बोक्ने र पार्टी विधानको प्रस्तावनामै त्यो उल्लेख भएको भनेर उज्यालो नेपालमा आबद्ध भएका छन् ।
पहिचानवादी नेताहरू रास्वपामा मिसिने कुलमानको निर्णयप्रति असहमत थिए । त्यसकारण पहिचानको मुद्दामा रास्वपाको स्पष्ट धारणा खोजे । आफूहरूसँग कुनै सल्लाह नगरी पार्टी विलय गराएको भन्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले सार्वजनिक रूपमै विरोध जनाएका थिए । रास्वपाको समानुपातिक सूचीमा नाम समेटिएका प्राध्यापक डा. महेन्द्र लावतीले पनि असहमति जनाएका थिए । पहिचान, संघीयता र धर्म निरपेक्षताको आधारभूत एजेन्डामा एक ठाउँ आउन रास्वपा र उज्यालो नेपालबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेन । त्यसपछि एकता प्रक्रिया भंग हुन पुगेको हो ।
तथापि उज्यालो नेपाल पार्टीका केही नेताहरू रास्वपामै रहने भएका छन् । तारा जोशी, विशाल भण्डारीलगायतका नेता रास्वपासँग एकताकै पक्षमा रहने भएका हुन् ।