
काठमाडौं : आइतबार काठमाडौंमा मधेश केन्द्रित दलका दुई फरक दृश्य देखिए । एकातिर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पार्टी एकीकरण प्रक्रियालाई औपचारिकता दिँदै थिए । अर्कोतिर जनमत पार्टीका अध्यक्ष सिके राउत मध्यबानेश्वरस्थित पार्टीको सम्पर्क कार्यालयमा बसेर अन्य पार्टीका नेता÷कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै थिए । अध्यक्ष राउतका अनुसार इन्जिनियर तथा समाजसेवी सोनु कुशवाहा, जितेन्द्र पण्डित, मोवाज आलमलगायत व्यक्ति उनको पार्टीमा समाहित भएका छन् ।
लोसपा, जसपा र जनमत मधेशमा प्रमुख राजनीतिक दलहरू हुन् । आगामी २१ फागुनको चुनावी तयारीमा रहेका यी दलहरू चुनावबाट थप शक्ति आर्जन गर्न चाहन्छन् । यसका लागि महन्थ ठाकुर र उपेन्द्र यादव एक भए । सहमतिअनुसार एकीकरण हुने दलको नाम जनता समाजवादी पार्टी नेपाल नै कायम रहनेछ । पार्टीको चुनाव चिह्न छाता रहने तथा झन्डामाथि रातो, बीचमा सेतो र तल्लो भागमा हरियो रङको रहनेछ ।
एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिनेछ । सो समितिले आफूमध्येबाट ११ सदस्यीय सचिवालय बनाउनेछ । केन्द्रीय समिति समायोजन नहुन्जेल पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक भूमिकासमेत यही समन्वय समितिले निर्वाह गर्ने सहमतिमा उल्लेख छ । केन्द्रीय समन्वय समितिका निर्णय पार्टीका संरक्षक तथा अध्यक्षले प्रमाणित गर्नेछन् । समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहनेछन् भने विभिन्न क्षेत्र, समुदाय र समूहबाट ४३ सदस्य समेटिएका छन् । पार्टीको निर्णयमा दुवैको हस्ताक्षर अनिवार्य हुने सहमति एक अर्कोप्रति विश्वास कायम रहन सकोस् भनेर गरिएको सहमति हो ।
एकता प्रक्रियामा सहभागी नभएमा अन्य नेता र मधेश केन्द्रित शक्ति मोर्चाबन्दीको प्रयासमा छन् । खासगरी राजेन्द्र महतो र रेशम चौधरीलगायतका नेता मोर्चाबन्दीको प्रयासमा लागेका हुन् । तर एकता र मोर्चाबन्दी कतै संलग्न नभएर सिके राउत नेतृत्वको जनमत एक्लै अगाडि बढ्दै छ ।
‘हाम्रो फ्लेवर फरक छ’ जनमत पार्टीका अध्यक्ष राउत सामाजिक सञ्जालमा लेख्छन्, ‘हामी समान अधिकार, आत्मसम्मान, पहिचान, संघीयता, समानुपातिक समावेशिताका लागि लड्दै छौं ।’
अधिकार नपाएका विपन्न निमुखा वर्गको कारणले राजनीतिमा होमिएको उल्लेख गर्दै उनी सबै नागरिकलाई समान अधिकार दिलाउनु आफूहरूको प्रथम कर्तव्य भएको बताउँछन् । अध्यक्ष राउत अगाडि थप्छन्, ‘हामी हरेक नेपाली नागरिकले नागरिकता, आत्मसम्मान, पहिचान, शिक्षा, स्वास्थ्य र रोजगारी पाऊन् भनेर लड्दै छौं ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा ढाल बनेर उभिरहने पनि उनको प्रतिबद्धता छ ।
एक्लै चुनावी अभियानमा रहेको जनमत पार्टी अनेकन एजेन्डा प्रस्तुत गरिरहेको छ । जसमा समान नागरिकता अधिकार, संघीयताको पूर्ण कार्यान्वयन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, भाषा र सांस्कृतिक मान्यता, सुरक्षा निकायमा समान सहभागिता, सीमावर्ती क्षेत्रका समस्या समाधान, कृषकको हक र मूल्य, शिक्षा र स्वास्थ्य पहुँच, पहिचान र सम्मान, स्थानीय स्रोतमा स्थानीय अधिकार, संविधान संशोधन र विश्वासको राजनीतिलाई उनी जनताका बीचमा लगिरहेका छन् ।
एजेन्डाका साथसाथै नागरिकको तत्काल विश्वास जित्न जनमत पार्टीले विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई कम्बल वितरण गर्नेलगायतका कार्य गरिरहेको छ ।