
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा उनले विधानसम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरूलाई पुनः आग्रह गरेका हुन् ।
उनले कार्यक्रममा सहभागिता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरूले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरूसँग डराएर आउन नसकेको जिकिर समेत गरे । महामन्त्री थापाले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्याउन नसक्ने दाबी समेत गरे ।
महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि कांग्रेस जागेर अघि बढ्नुपर्ने बताए ।