काठमाडौं : वैदेशिक रोजगार कार्यालयले आगामी बैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने भएको छ । बिहीबार एक सूचना जारी गरी वैदेशिक रोजगार कार्यालय ताहाचलले बैशाख २ गतेदेखि संस्थागत अर्थात् म्यानपावर कम्पनीको तर्फबाट पेश हुने फाइलमा श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने बताएको छ ।
त्यसका लागि कम्तीमा ३ कार्य दिनअघि नै पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन समेत कार्यालयले अनुरोध गरेको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशकको जिम्मेवारीमा आएलगत्तै शेषनारायण पौडेलले अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन शुरू गरेपछि सोही कामका लागि म्यानपावर कम्पनीले श्रम प्रतिनिधि वा अन्य कसैलाई पठाए कारबाही गरिने बताएका थिए ।
म्यानपावर कम्पनीले फाइलमार्फत अन्तिम स्वीकृति लिँदा उक्त कार्यालयका धेरै कर्मचारी र केही श्रम प्रतिनिधिका लागि वैदेशिक रोजगार कार्यालय ताहाचल कमाईका दृष्टिले आकर्षक मानिएको थियो । वैदेशिक रोजगार विभाग मातहत रहेपनि मन्त्रालयका सचिवले आफू निकटका कर्मचारीलाई ताहाचल पठाउने गरेका थिए ।
विगतमा व्यवसायीले मागपत्र, कामदारले पाउने तलबदेखि कामदारका सबै विवरण स्क्यानिङ गरेर अनलाइनबाटै पठाएपनि कर्मचारीले सबै सक्कली कागजात लिएर आउन दबाब दिएर सानातिना कमजोरी देखाउँदै रकम असुल्ने गरेकोे कतिपय व्यवसायीको गुनासो छ ।
अनलाइन प्रणालीको शुरुवात गरिएपछि त्यसलाई असफल पार्न केही कर्मचारीदेखि बिचौलियाहरुले धेरै मिहेनत गरेको पनि पटकपटक सार्वजनिक हुने गरेकोे थियोे ।
वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरू गरिएपछि सेवाग्राहीले लामो लाइन बस्नुपर्ने यसअघिको झन्झट हटेको मन्त्रालयको भनाइ छ ।
संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानेहरुको विवरण म्यानपावर कम्पनीले भरिदिए पनि व्यक्तिगत र पुनः श्रम स्वीकृतिमार्फत जाने कामदारले विभागको वेबसाइटमार्फत फाराम भर्न झन्झट मान्ने गरेका कारण अहिले पनि कार्यालय छेउछाउका बिचौलिया पूर्णरूपमा नहटेको बताइएको छ ।
अनलाइन श्रम स्वीकृति शुरू भएमा तालिम नलिई अभिमुखीकरणको प्रमाणपत्र लिने कार्य, नक्कली बीमाजस्ता समस्या हट्ने विभागको बुझाई छ ।
स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सञ्चालित सुरक्षित आप्रवास परियोजना (सामी)को चार करोड रुपैयाँभन्दा बढी लागतमा पाँच वर्ष अघिदेखि अनलाइन प्रणाली शुरूवात गरिएकोे हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies