
काठमाडौं : नेपाली कांग्रेसले पार्टी इतिहासमै पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था गर्ने भएको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रस्तावमा आन्तरिक प्रतिस्पर्धामार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था समेटिएको हो ।
महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावअनुसार सम्बन्धित तहका सदस्यहरूबाट प्राइमरी निर्वाचन गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीन जनामध्येबाट उम्मेदवार तय गरिनेछ । उम्मेदवार छनोटका लागि डिजिटल मूल्यांकन तथा सिफारिस प्रणाली प्रयोग गरिने उल्लेख छ ।
यो व्यवस्थाले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ हुने, विवाद कम हुने र पार्टीप्रति जनविश्वास बढ्ने महामन्त्री थापाको विश्वास छ ।