
काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा)ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक सूची बुझाउन नदिएको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ । उनेपाका नेता जितराम लामाका अनुसार आयोगको आधिकारिक निर्णय लिएर अदालत जाने योजना छ ।
उनका अनुसार समानुपातिक निर्वाचन लड्ने गरी दल दर्ता गरिएको, ५० हजार शुल्क तिरेर रसिद लिइएको र सूची सच्याउने तथा नाम फिर्ता लिने समयभित्रै सूची बुझाउन निवेदन दिइएको थियो । तर, आयोगले त्यसबारे कुनै आधिकारिक निर्णय नदिएको उनको भनाइ छ ।
लामाले आयोगले सूची लिए समस्या समाधान हुने र नलिए कारणसहितको निर्णय लिएर अदालत जाने बताए । निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउने समय तोकेको थियो ।
उनेपाले भने पुस १४ गते रास्वपासँग सहमति गरी आफ्ना उम्मेदवार रास्वपाको सूचीमा राखेको थियो । पछि सहमति भंग भएपछि छुट्टै सूची बुझाउन खोज्दा समय सकिएको भन्दै आयोगले फिर्ता गरेको थियो ।