
काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अन्योल र अनिश्चितताको अवस्थामा पार्टीलाई एकताबद्ध, संगठित र सुदृढ बनाएर निर्वाचनमा होमिन अपिल गरेका छन् । सोमबार दिउँसो जारी गरेको अपिलमार्फत यस्तो अपिल गरेका हुन् ।
पौष २८ गते जारी अपिलमा खड्काले देश गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटनले लोकतन्त्र र संविधानको भविष्यप्रति चासो र चिन्ता बढाएको बताएका छन् । आगामी फाल्गुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमार्फत संविधानलाई ‘लिकमा ल्याई’ लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।
खड्काले नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा विषम परिस्थितिको सही मूल्यांकन गर्दै आफ्नो नेतृत्वमा उचित निकास दिएको स्मरण गराउँदै अहिले पनि पार्टीमाथि ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गरेका छन् । राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित कांग्रेसले वर्तमान संकटमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।
उनले निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ वैशाखमा हुने १५औं महाधिवेशनमार्फत पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व परिवर्तन सहज रूपमा गर्न सकिने अवस्था सुनिश्चित हुँदै गएको पनि बताएका छन् । त्यसैले अहिले आन्तरिक मतभेद थाती राखेर निर्वाचनलाई अभियानकै रूपमा लिएर सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने खड्काको जोड छ ।
उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहसम्मका पार्टी संरचनाका पदाधिकारी तथा सदस्य, भ्रातृ र शुभेच्छुक संस्थासहित सबैलाई पार्टीभित्र उत्पन्न असहज अवस्था अन्त्य गर्न गम्भीर बन्न आग्रह गरेका छन् । पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न उनले सबैलाई सचेत गराएका छन् ।
कार्यवाहक सभापति खड्काले वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा कांग्रेसकै नेतृत्वमा सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।
हेर्नुहोस् अपिल :
