२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

प्रीति र अमरले कतारमा आयोजना हुने माघ्या सकराटीको कार्यक्रममा प्रस्तुति दिने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष २८ गते १७:०२
Shares
प्रीति र अमरले कतारमा आयोजना हुने माघ्या सकराटीको कार्यक्रममा प्रस्तुति दिने

दोहा, कतार : मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस् ५०१९)- २०२६ कतारमा यस वर्ष पनि मनाइने भएको छ । कतारमा रहेका मगरहरूको साझा सामुदायिक संस्था नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आउँदो शुक्रबार विविध सांस्कृतिक प्रस्तुतिसहित माघ्या सकराटी मनाउन लागिएको संघले जनाएको छ । माघ्या सकराटी कार्यक्रमलाई थप संगीतमय बनाउन नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले मगर, गायक अमर रोका मगरसहित कार्यक्रमका उद्घोषक पुरन रास्कोटी मगर कतार आउने भएका छन्  । 

नेपालबाट आमन्त्रित कलाकारसँगै नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा र भुम्यामा मौलिक नृत्य प्रस्तुति दिनेछन् । मगर भाषा, नेपाली  लोक तथा दोहोरी, आधुनिक तथा फिल्मी गीतहरूमा कलाकारहरूले आफ्ना प्रस्तुति दिने कार्यक्रम संयोजक देवीकुमारी मगरले मध्यान्ह दैनिकलाई जानकारी दिइन् । कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको र नेपालबाट कलाकारको आगमनसँगै तयारी पूरा हुने संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए ।

अल ओकिरमा रहेको डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा बिहान ११ बजेदेखि  सुरु हुने कार्यक्रममा सहभागी हुन इच्छुकहरूका लागि आयोजकले कतारका विभिन्न स्थलबाट निःशुल्क यातायातको व्यवस्था गरेको छ । यातायातको रुटको जानकारीका लागि यातायात संयोजक दुर्गा दर्लामी मगर ३३७६४१४२ र सह संयोजक नेत्र थापा मगर ३३८५८५६५ लाई सम्पर्क गर्न संघले अनुरोध गरेको छ ।

माघ्या सकराटी पर्व नेपालका आदिवासी–मूलवासी समुदायहरूमध्ये विशेषतः मगर समुदायको मौलिक, ऐतिहासिक तथा जीवनदर्शनसँग गहिरो रूपमा सम्बन्ध गाँसिएको महत्त्वपूर्ण पर्व हो । सूर्य मकर राशिमा प्रवेश गर्ने यस दिनलाई समय चक्रको नयाँ मोड, ऋतु परिवर्तन तथा सामाजिक–आध्यात्मिक पुनर्जागरणको प्रतीकका रूपमा लिइन्छ । यस पर्वले प्रकृति, पितृ पूजा, सामाजिक संरचना र आर्थिक व्यवहारबीचको अन्तरसम्बन्धलाई स्पष्ट रूपमा उजागर गर्दछ ।

सम्बन्धित खबर