
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता शुल्क तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सूचनाअनुसार पार्टीको विशेष महाधिवेशन निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिम विभिन्न पदका उम्मेदवारका लागि फरक–फरक शुल्क निर्धारण गरिएको हो ।
निर्धारित शुल्कअनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ । केन्द्रीय उपसभापति तथा महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी सहमहामन्त्री पदका उम्मेदवारका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क कायम गरिएको छ ।
विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया निर्देशिकाअनुसार अघि बढाइने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । उनका अनुसार महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचन प्रक्रिया र शुल्कसम्बन्धीको व्यवस्थाले कांग्रेसभित्रको राजनीतिक गतिविधि थप सक्रिय बन्ने देखिएको छ ।
यद्यपि कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नभएको बताउँदै आएको छ । यसअघि नियमित महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेको छ । उक्त कार्यतालिका अनुसार आगामी वर्षको बैशाखमा महाधिवेशन हुनेछ ।
तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षले कांग्रेसको नीति र नेतृत्व परिवर्तन हुनेपर्ने भन्दै आइतबारदेखि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको छ ।
यसअघि एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि १५ हजार शुल्क तोकिएको थियो भने अन्य पदमा १० हजार तोकिएको थियो ।
